काठमाण्डौं। वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका २४ जना नेपालीको शव आज स्वदेश ल्याइँदैछ। कतारबाट २० र अन्य देशबाट ४ वटा शव दिउँसो काठमाडौं आइपुग्ने वैदेशिक रोजगार वोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले जानकारी दिनुभएको छ ।
कतार एयरवेज दिउँसो १२ बजे ४३ जना नेपाली र २० वटा शव लिएर आउँने श्रेष्ठले बताउनु भयो। उनीहरुलाई कतार सरकार आफैँले नेपाल पठाउन लागेको हो। कतार एयरलाइन्सले एक सय २० यात्रु ल्याउने भनिए पनि स्वास्थ्य परीक्षणको कारण केही यात्रु उतै रोकिएका नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिनु भयो।
वैदेशिक रोजगार बोर्डका अनुसार कतारबाट मोरङको कोसी हरैँचाका युवराज अधिकारी, भोजपुरको देउरालीका मीनबहादुर थापा, सुर्खेतको सहारेका नरबहादुर कामी, भोजपुरको टुंगेचाका मंगलबहादुर तामाङ, बर्दियाको मोतिपुरका सुकराम थारु, सर्लाहीको इश्वरपुरका अरुणकुमार पंजियार, महोत्तरीको दम्हीका शिवशंकर राउत,कपिलबस्तुको दोहनीका महमुद अलमान मुसलमान, सर्लाहीको हरिवनका मुस्ताक साइक, सिराहाको परासीका रुपेशकुमार मण्डल, लमजुङको धोदेनीका कुम्बा तामाङ, बाँकेको रझेनाका भक्तबहादुर थापामगर, सप्तरीको लोहताराका राजेन्द्रप्रसाद मण्डलको शव ल्याइँदैछ।
यसैगरि धनुषाको भरतपुरका चुतर्वा मण्डल, मकवानपुरको भीमफेदीका जितेन्द्र थापामगर, रुपन्देहीको देवदहका यामबहादुर थापा, सिराहाको सुखचैनाका कासिदेव यादब, सर्लाहीको सधोवाका पासवान र महोत्तरीको औरहीका अनिल चौधरीको शव कतारबाट ल्याइँदै छ।यी मध्ये ७ वटा शव काठमाडौँमै अन्त्येस्टी गर्ने र बाँकी बोर्डले घरसम्म पुर्याइदिने छ।
आज साउदी अरब, यूएई र कुवेतबाट पनि चार वटा शव आउँदैेछन्। जजिरा एयरलाइन्सले कुवेतबाट दुई, हिमालयन एयरलाइन्स र नेपाल एयरलाइन्सले साउदी र यूएईबाट एक एक शव काठमाडौँ ल्याउँदैछन्। यसअघि जजिराले हिजो पनि दुईवटा शव ल्याएको थियो। कोरोना भाइरसको महामारीपछि अन्तर्राष्ट्रिय उडान बन्द हुँदा शव रोकिएका थिए।
प्रवक्ता क्षेत्रीका अनुसार हिमालय एयरलाइन्स १५३ यात्रु र एउटा शव लिएर आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको छ। यो जहाज साउदीको दमामबाट आएको हो। करिब १५० यात्रु लिएर कुवेतबाट जजिरा एयरलाइन्सको जहाज र दुबईबाट १५० यात्रु लिएर नेपाल एयरलाइन्सको जहाज आजै दिउँसो १ बजे काठमाडौं आइपुग्दैछन्।










