काठमाण्डौ। अब देखी राति १० बजेदेखि बिहान ५ बजे सम्म पैदल हिड्न सरकारले रोक लगाएको छ । कोरोना भाइरस संक्रमितको संख्या बढेसँगै सरकारले कोरोनाको जोखिम बढेको भन्दै हिँडडुल र जमघटमा कडाइ गरेको हो।

गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाएर राति १० बजेदेखि बिहान ५ बजेसम्म पैदल यात्रुको आवागमन रोक्न निर्देशन दिएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

गृहले अत्यावश्यक कामबाहेक मानिसलाई राति हिँडडुल नगर्न भनेको छ । यस्तै मालवाहक गाडीमा यात्रु ओसारपसार भइरहेकाले चालक र सह चालकबाहेक अरुले यात्रा गर्न नपाउने र यसको कडा निगरानी हुने पनि जनाएको छ ।

यस्तै विवाह, मृत्यु, चाडपर्व, पूजापाठलगायतका धार्मिक र सांस्कृतिक कार्यक्रममा धेरै भीडभाड हुन थालेको भन्दै गृहले १५ जनाभन्दा धेरै जम्मा नहुन पनि निर्देशन दिएको छ ।

उद्योग, कलकारखाना र विकास निर्माणका कार्यमा एकपटकमा एक ठाउँमा बढीमा १० जनाभन्दा धेरै व्यक्ति भेला हुन नपाउने पनि गृह मन्त्रालयले जनाएको छ । ज्येष्ठ नागरिक, सुत्केरी, गर्भवती महिला बालबालिका लगायतलाई सकभर घरभित्रै रहन मन्त्रालयले अनुरोध समेत गरेको छ ।

कोरोनाको जोखिम हेरेर स्थानीय प्रशासनले अत्यावश्यकबाहेकका जुनसुकै क्रियाकलापमा बन्देज लगाउन सक्ने पनि गृह मन्त्रालयले जनाएको छ ।