भोजपुर । विभिन्न ठाउँँबाट जिल्ला प्रवेश गर्नेको सङ्ख्या वृद्धि भइरहँदा पँहुच र शक्तिको आडमा क्वारेन्टाइनमा नबस्ने धेरै छन् तर गृह जिल्ला भोजपुर आउनु भएका प्रतिनिधिसभाका सांसद सुदन किराँती आफ्नो जन्मथलो रहेको रामप्रसादराई गाउँपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा बस्नु भएको छ । प्रतिनिधिसभाकै सांसद गृह नगर फर्किदा क्वारेन्टाइनमा बसेको भन्दै भोजपुरका स्थानीयवासी खुशी भएका छन् ।
उनिहरु सरकारले जारी गरेको प्रावधानलाई पालना गर्दै प्रतिनिधिसभाका सदस्य किराँती क्वारेन्टाइनमा बसेपछि खुशी भएका हुन् । प्रतिनिधिसभा सदस्य सुदन किराँती गृह जिल्ला आएसँगै क्वारेन्टाइनमा बस्नु भएको हो ।
काठमाडौँमा परीक्षण गरी सङ्क्रमणमुक्त भएको प्रमाणसहित गृह जिल्ला आएपनि किराँती क्वारेन्टाइनमा बस्नु भएको हो । सरकारले कोरोनाको जोखिमलाई ध्यानमा राख्दै बाहिरबाट आएका मानिसलाई अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था गरेको कारण आफू पनि क्वारेन्टाइनमा बसेको सांसद किराँतीले बताउनु भयो ।
वहाँले भन्नु भयो म शनिबारबाट गाउँपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा बसेको छु, क्वारेन्टाइनमा बसेर यहाँको समस्याको विषयमा बुझेर यसको समाधानका लागि पनि पहल गरिरहेको छु ।”
मानिसमा पहुँचको आधारमा सरकारले जारी गरेको निर्णय पालना नगर्ने प्रवृत्ति बढ्दै गएकाले त्यसको अनिवार्यरुपमा पालन गर्नुपर्नेसमेत सांसद किराँतीले बताउनु भएको छ ।
वहाँले भन्नु भयो हामीमा पहुँचको आधारमा विभिन्न ढङ्गले सरकारले जारी गरेको नीति नियम उल्लङ्घन गर्ने प्रवृत्ति बढ्दो छ, यसले सर्वसाधारण जनता मारमा छन्, नियम सबैको लागि बराबर हुनुपर्छ, त्यसैले म जनताको समस्यालाई नजिकबाट नियाल्दै क्वारेन्टाइनमा बसेर सरकारको नियम पालना गर्दैछु ।
राजधानीमा रहेर जनतालाई राहत वितरणदेखि लिएर संसद्मा जिल्लाका विभिन्न समस्याका विषयमा सरकारको ध्यानाकर्षण गराएपश्चात् किराँती जिल्लाको पछिल्लो अवस्था बारे जानकारी लिन गृहजिल्ला आउनु भएको हो ।
निम्नस्तरका निमुखा मानिस मात्र क्वारेन्टाइनमा बस्नुपर्ने जनगुनासो स्थानीयवासीबाट आएपछि त्यसलाई नजिकबाट नियाल्न सहयोग पुगेको वहाँको भनाइ छ ।










