काठमाण्डौं। सरकारले गरेको स्वास्थ्य सामग्री खरिदमा अनियमितताको विषयमा प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले छलफल थालेको छ। व्यापक अनियमितता भएको भन्दै सरकारको आलोचना बढेपछि समितिमा आज यसबारे छलफल भएको हो।
आजको बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्याल, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव तथा कोभिड १९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीका सदस्य सचिव नारायण बिँडारीलाई बोलाइएको छ।
आजको बैठकमा समिति सदस्यहरु विरोध खतिवडा, धर्मशीला चापागाईं, राजेन्द्र केसी, प्रदीप यादवहरुले ओम्नी ग्रुपले खरिद गरेको सामग्रीमा अनियमितता भएको स्वास्थ्य मन्त्रालयले नै ठहर गरे पनि उसलाई कालोसूचीमा नराखेकोमा सरकारको आलोचना गर्नुभएको छ।
त्यस्तै, अनियमितता ठहर भए पनि उसलाई भुक्तानी दिएकामा मन्त्रालयको चर्को आलोचना समेत भएको छ। समितिका सभापति भरत शाहले पनि स्वास्थ्य सामग्री खरिदमा ठूलो अनियमितता देखिएको बताउनु भएको छ । वहाँले आर्थिक र नीतिगत अनियमितता देखिएको समिति बैठकमा बताउनु भएको हो।
सांसदहरुले स्वास्थ्यमन्त्री भानुभक्त ढकालले मनलागी काम गरेको भन्दै चर्को आलोचना गरेका छन्। यो प्रकरणको उपसमिति बनाएर छानबिन गर्न सांसदहरुले माग गरिरहेका छन्। सरकारले १० अर्बको स्वास्थ्य सामग्री खरिद गरेको बताए पनि पछि करिब नौ अर्बको बिल सार्वजनिक गरेको थियो।










