दमक। झापाको दमकबाट आज ६१ जनाको स्वाव संकलन गरि कोरोना भाइरस संक्रमण भए नभएको परीक्षणका लागि विराटनगर पठाइएको छ । त्यसमध्ये एक जना मृतकको सवको परीक्षण गर्न स्वाव संकलन गरिएको छ ।
विहान ६० जनाको स्वाव संकलन गरिएपनि दिउँसो एक मृतकको पनि स्वाव संकलन गरिएको हो । दमक रवी चिसापानी सडक निर्माणका लागि काम गर्दै आएका एक कामदारको मृत्यु भएको र सो शवको पनि परीक्षण गर्न अनुरोध गरेकाले ६१ स्वाव संकल गरिएको दमक नगरपालिकाको क्वारेन्टाइन व्यवस्थापन समितिका सदस्यसचिव कुबेर प्रसाद भट्टराईले जानकारी दिनु भयो ।
वहाँका अनुसार ३८ जना पुरुष र २३ जना महिलाको स्वाव संकलन गरिएको छ । दमकको मानसरोबर क्वारेन्टाइनका ३० पुरुष, होम क्वारेन्टाइनका ६ पुरुष, आम्दा अस्पतालको आइसोलेशनमा रहेका एक पुरुषको स्वाव संकलन गरिएको हो ।
त्यस्तै मदन भण्डारी प्रतिष्ठानको महिला क्वारेन्टाइनका २२ महिलाको पनि स्वाव संकलन गरिएको छ भने एक जना होम क्वारेन्टाइनमा रहेकी महिलाको पनि स्वाव संकलन गरिएको सदस्यसचिव भट्टराईले सवाल नेपाललाई जानकारी दिनु भयो । सबै स्वाव परीक्षणको लागि विराटनगर स्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पठाइएको छ ।










