दमक। झापाको दमकबाट आज ५६ जनाको स्वावको पीसीआर परीक्षणका लागि स्वाव विराटनगर पठाइएको छ । बुधबार संकलन कार्य ढिलो भएकोले स्वाव परीक्षणका लागि आज विहान पठाइएको दमक नगरपालिका क्वारेन्टाइन व्यवस्थापन समितिका सदस्यसचिव कुबेर प्रसाद भट्टराईले जानकारी दिनुभयो ।

स्वाव संकलन गरिएकामा ४५ जना पुरुष र ११ जना महिला छन् । क्वारेन्टाइन, होम क्वारेन्टाइन,होटल क्वारेन्टाइन, सेफ हाउस, अस्पताल कर्मचारी र सुरक्षाकर्मी गरी ५६ जनाको स्वाव संकलन गरिएको भट्टराईले जानकारी दिनुभयो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

स्वाव संकलन गरिएकामा दमकको मानसरोबर क्वारेन्टाइनका २८ जना पुरुष, मदन भण्डारी प्रतिष्ठानको महिला क्वारेन्टाइनका ७ जना, होम क्वारेन्टाइनका ८ जना, होटल क्वारेन्टाइनका ६ जना, अस्पताल कर्मचारी ४ जना, क्वारेन्टाइनमा खटिएका सुरक्षाकर्मी २ जना र एक जना सेफ हाउसकी महिला भएको सदस्यसचिव भट्टराईले जानकारी दिनुभयो । दमकमा आज तेश्रो मुलुकबाट आएका ७ जनागरि क्वारेन्टाइनमा ४५ जना छन् । त्यसमध्ये ३८ पुरुष हुन भने ७ जना महिला हुन् ।