दमक/ आज (शुक्रवार) देशभर थप ११८ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएसंगै नेपालमा संक्रमितको संख्या १६ हजार ६४९ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या १२० रहेको छ ।
पछिल्लो २४ घण्टामा ४ हजार ८ सय ६ जनाको पिसिआर परिक्षण भएको छ । अहिलेसम्म २३ हजार ९ सय १० जना क्वारेन्टाइनमा छन् भने आठ हजार ६ सय ३ जनाको आइसोलेसनमा उपचार भइराखेको छ । डा गौतमका अनुसार नेपालमा कोरोना संक्रमण भएर निको हुनेको कुल संख्या हालसम्म ८ हजार ११ पुगेको छ । यो सँगै नेपालमा हालसम्म २ लाख ७५ हजार ९ सय ५१ जनाको पिसिआर परिक्षण भएको छ । हाल सम्म नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३५ रहेको छ ।
दमकका ५६ जनाको रिपोर्ट नेगेटिभ यसैबीच दमक नगरपालिकाबाट पठाइएका ५६ जनाको स्वावको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । रिपोर्ट नेगेटिभ आएसँगै क्वारेन्टाइनमा बस्दै आएका ३५ जना घर गएका नगरपालिका क्वारेन्टाइन व्यवस्थापन समितिका सदस्यसचिव कुबेर प्रसाद भट्टराईले सवाल नेपाललाई जानकारी दिनुभयो । उनीहरु विदेशबाट सिधै क्वारेन्टाइनमा आएर बसेका थिए ।
रिपोर्ट नेगेटिभ आएकामा ४५ जना पुरुष र ११ जना महिला छन् । क्वारेन्टाइन, होम क्वारेन्टाइन, होटल क्वारेन्टाइन, सेफ हाउस, अस्पताल कर्मचारी र सुरक्षाकर्मीगरि ५६ जनाको स्वाव संकलन गरि परीक्षणका लागि पठाइएको थियो । जसमा दमकको मानसरोबर क्वारेन्टाइनका २८ जना पुरुष, मदन भण्डारी प्रतिष्ठानको महिला क्वारेन्टाइनका ७ जना, होम क्वारेन्टाइनका ८ जना, होटल क्वारेन्टाइनका ६ जना, अस्पताल कर्मचारी ४ जना, क्वारेन्टाइनमा खटिएका सुरक्षाकर्मी २ जना र एक जना सेफ हाउसकी महिला थिए ।
दमकमा आज तेश्रो मुलुकबाट एक महिला र ७ पुरुष आएका छन् । दमकका दुई क्वारेन्टाइनमा आज १९ पुरुष र २ महिला गरी २१ जना छन् । यसैबीच दमकको मदन भण्डारी प्रतिष्ठानको महिला क्वारेन्टाइन खाली गरिएको छ । आजबाट महिलाहरुलाई दमक १० को विज्ञानपार्क भवनमा राखिन थालिएको पनि सदस्यसचिव भट्टराईले जानकारी दिनुभयो ।










