दमक/ कोरोना भाइरस सङ्क्रमणका कारण अहिले विश्व नै आक्रान्त बनिरहेको छ । जसका कारण ६ लाखभन्दा बढीको मृत्यु भएको छ भने लाखौँ सङ्क्रमित छन् ।

विश्वका विकसित मुलुकहरुमा पनि यसले महामारीको रुप लियो । जसका कारण ती मुलुकमा रहेका नेपालीहरु स्वदेश फर्किन थाले । यो क्रम अहिले पनि चलि नै रहेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

विदेशबाट आएका नेपालीमा कोरोना सङ्क्रमण देखिन थालेपछि सरकारले गत चैत ११ गतेबाट लकडाउन घोषणा गर्यो । भारतलगायत तेस्रो मुलुकबाट आउनेहरु अहिले सयौँको सङ्ख्यामा क्वारेन्टाइनमा छन् । उनीहरुसँगै क्वारेन्टाइनको रेखदेख गर्नेदेखि स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीमा पनि सङ्क्रमण देखियो ।

पछिल्लो क्रममा देशभर नै कोरोना सङ्क्रमणको लागि आरडिटी तथ पीसीआर परीक्षणलाई बढाउन थालिएको छ । श्रोतका अनुसार यो समाचार तयार पार्दा सम्म  झापामा मात्र अहिलेसम्म ९ हजार ६ सय ९९ जनाको स्वाब सङ्कलन गरी परीक्षण गरिसकिएको छ ।

जसमा पुरुषको सङ्ख्या महिलाको भन्दा तीन गुणा बढी छ । श्रोतका अनुसार अहिलेसम्म ७ हजार ५ सय ९८ जना पुरुषको कोरोना सङ्क्रमण भए नभएको परीक्षण गरिएको छ भने महिलाको सङ्ख्या २ हजार १ सय १ रहेको छ ।

झापामा अहिलेसम्म क्वारेन्टाइनमा बस्नेको सङ्ख्या ५ सय ७३ छ । जसमा ४ सय ६६ पुरुष र १ सय ७ महिला छन् । त्यस्तै, होम क्वारेन्टाइनमा बस्नेको सङ्ख्या ७ सय २५ छ भने ५ सय ६० पुरुष र १ सय ६५ महिला रहेको तथ्याङ्क छ । यो तथ्यांकलाई हेर्ने हो भने पनि दुवै क्वारेन्टाइनमा बस्नेको सङ्ख्यामा पुरुष तीन गुणाभन्दा बढी छन् ।

झापामा आइसोलेसन सङ्ख्या ४ र आइसोलेसनको बेड संख्या ३७ भए पनि अहिलेसम्म कोही पनि आइसोलेसनमा बसेको तथ्यांक छैन । यस्तै, झापाका १९ होल्डिङ एरियामा २ हजार १ सय ५८ वटा बेड सङ्ख्या रहेको छ ।

जसमा २ सय १९पुरुष र ४६ महिला गरी २ सय ६५ जना रहेको तथ्याङ्क छ । झापामा अहिले पनि भारतलगायत तेस्रो मुलुकबाट आउने क्रम जारी नै रहेकाले क्वारेन्टाइनमा बस्नेको सङ्ख्या अझै बढ्ने देखिन्छ ।

झापामा अहिलेसम्मको परीक्षणबाट ३ सय १३ जनामा कोरोना भाइरस सङ्क्रमण भएको पाइएको छ । जसमा २ सय ६९ जना पुरुष र ४४ जना महिला छन् । झापामा अहिलेसम्म कोरोना सङ्क्रमणका कारण कसैको मृत्यु भएको छैन ।