कोरोना भाइरसका कारण बन्द रहेका होटलका श्रमिकले न्यूनतम पारिश्रमिक पाउने भएका छन्। होटल संघ नेपाल (हान) र पर्यटन तथा होटल क्षेत्रका मुख्य तीनवटा केन्द्रीय ट्रेड युनियन संघबीच भएको ६ बुँदे सम्झौता अनुसार श्रमिकले ४ हजार ३ सयदेखि १० हजारसम्म पारिश्रमिक पाउने भएका हुन्।

सम्झौता अनुसार २ सय कोठाभन्दा माथि रहेका डिलक्स, पाँचतारे तथा सोही स्तरको रिर्सोटमा काम गर्ने प्रत्येक कर्मचारी तथा श्रमिकले १० हजार, २ सय कोठाभन्दा कम रहेका डिलक्स, पाँचतारे तथा सोही स्तरका लागि ९ हजार, १ सय कोठाभन्दा बढी भएको चारतारे होटलका श्रमिकको लागि ८ हजार ४ सय ५५ पारिश्रमिक दिइने विज्ञप्तिमा उल्लेख छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यसैगरी, १ सय कोठाभन्दा कम भएको चार तारे होटल तथा सोही स्तरका रिसोर्टमा कार्यरत प्रत्येक श्रमिक तथा कर्मचारीले मासिक ८ हजार, तीन तारे तथा सोही स्तरका रिसोर्टमा कार्यरतले ५ हजार, दुई तारेमा कार्यरतले ४ हजार ३ सय र एक तारे तथा पर्यटक स्तरको होटल तथा रिर्सोटहरूमा आपसी समझदारीमा रकम उपलब्ध गराइने सम्झौतामा उल्लेख छ।

यो सम्झौता १३ अप्रिल २०२० देखि ३१ डिसेम्बर २०२० सम्म लागू हने छ।

सम्झौता अवधिभित्र स्वेच्छिक अवकाश लिन चाहने, आफ्नो स्वेच्छाले राजाीनामा दिई सेवाबाट अलग हुन चाहने र उमेरको हदको कारण अवकाश पाउने कर्मचारीको सेवा अन्त्य हुँदा लकडाउन अघि खाईपाई आएको सुविधा दिई सेवा अन्त्य गर्न पाइने व्यवस्था गरिएको छ।