न्यूनचापीय रेखा नेपाली आकाश माथि आएर बसेकाले देशभर अझै पाँच दिनसम्म भारी वर्षा हुने भएको छ। उक्त रेखा नहटेसम्म वर्षा जारी रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागका महानिर्देशक सरजुकुमार बैद्यले मुलुकको मौसमी अवस्थाबारे साेमबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनलाई जानकारी गराएका थिए।
सो क्रममा महानिर्देशक वैद्यले यही साउन ९ गतेपछि मात्र क्रमशः पानी पर्ने क्रम कम भएर जाने जानकारी दिएका थिए। उनका अनुसार प्रदेश–१, प्रदेश–२, बागमती, गण्डकी, प्रदेश–५ र सुदूरपश्चिम प्रदेशमा घना वर्षा भइरहेको छ । पछिल्लो २४ घण्टामा मुलुकको अधिकांश स्थानमा १०० मिलिलिटर वा सोभन्दा बढी पानी परिरहेको छ ।
यो मात्रा अझै बढेर २०० मिलिलिटर पानी पर्ने सम्भावना छ। न्यूनचापीय रेखा पश्चिमबाट पूर्वतिर सरेकाले केही दिन पूर्वी पहाडी क्षेत्रमा अत्यधिक वर्षाको सम्भावना रहेको वैद्यले बताए।
महानिर्देशक वैद्यका अनुसार पछिल्लो २४ घण्टामा बाराको कोल्दीमा सबैभन्दा बढी १६९ मिलीमिटर पानी परेको छ । यस्तै नवलपुरको डण्डामा १५०.६, तनहुँको स्याम्घा १४८.८ तथा गोरखामा १४०.२ मिलिमिटर पानी परेको छ ।
यो परिमाणमा अझै वृद्धि हुने वैद्यले बताए। 'यो पछिल्लो २४ घण्टाको विवरण हो,' वैद्यले भने, '“यो अझै बढ्छ र धेरै स्थानमा २०० मिलिमिटरसम्म पानी पर्छ।'
हरेक दिन मिडिया ब्रिफिङ
मौसम पूर्वानुमानबारे जानकारी लिएपछि मन्त्री पुनले पछिल्लो समय नेपालको मौसम पूर्वानुमान प्रणालीमा धेरै सुधार गरिएको बताए। आगामी दिनमा विभागबाट जारी हुने मौसमसम्बन्धी सूचना थप विश्वसनीय बनाउनुपर्नेमा उनले जाेड दिए।
'पहिलाको तुलनामा अहिले हामीले जल तथा मौसमको पूर्वानुमानप्रति विश्वास गर्नसक्ने आधार बनाएका छौँ,' मन्त्री पुनले भने, 'आगामी दिनमा थप विश्वसनीय बनाउनुपर्छ।' उनले मौसम पूर्वानुमानका लागि राज्यले प्रविधि र जनशक्तिमा धेरै लगानी गरेको भन्दै पूर्व सूचना प्रदान गरेर जनताको जीवन बचाउन कुनै कसर बाँकी नराख्न निर्देशन दिए। 'बाढी र पहिरोकाे सही सूचना सही समयमा दिऔँ, सूचना नपाएका कारण एक जनाले पनि ज्यान गुमाउनु नपरोस्,' मन्त्री पुनले भने।
यस्तै बाढीपहिराेको सूचनालाई थप प्रभावकारी बनाउन मङ्गलबारदेखि अधिक वर्षात् नरोकिएसम्म हरेक दिन मन्त्रालयमा मिडिया ब्रिफिङ गर्न मन्त्री पुनले विभागलाई निर्देशन दिए। विभागले सोमबारदेखि हरेक दिन बिहान ११ः०० बजे सामाजिक दूरी कायम गर्दै मिडिया ब्रिफिङ गर्ने तयारी गरेको छ।










