काठमाडौं – आइतबारदेखि परेको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढी र पहिरोले क्षति पुर्याएको छ । वर्षाका कारण तराईका विभिन्न क्षेत्र डुबानमा परेको छ भने पहाडी भेगमा पहिरोले बस्तीहरु पुरिएका छन् ।
धादिङ र चितवन जिल्ला जोड्ने मौवाखोला पुलको धादिङ तर्फको पिल्लर पानीले खोल्दा सडकको पीच कटान भएपनि सोमबार दिउँसोदेखि राजधानीसँग पृथ्वी राजमार्गको सम्पर्क टुटेको छ ।
गएराति पहिरोमा पुरिएर धादिङमा एकै परिवारका तीनजनाको मृत्यु भएको छ । त्रिपुरासुन्दरी–६ स्थित गल्याबमा गएराती आएको पहिरोले पुरिएर २५ वर्षिय मिलन खाँण, २२ वर्षिया संझना खाँण र उनिहरुको डेढ वर्षिया छोरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका एसपी रविन्द्र रेग्मीले जानकारी दिए ।
यसैगरी, पूर्वी नवलपरासिको बुलिगंटार गाउँपालिका वडा नं २ डाँडाझेरीमा एक घर पहिरोले पुरिँदा दुई जना पहिरोमा पुरिएर बेपत्ता भएका छन् ।
राति करिब ३ बजे घर माथिबाट आएको पहिरोले स्थानीय डाडाँझेरी टाँणीका ७० बर्षीय शेरबहादुर सार्की र उनकी श्रीमती बेपत्ताभएका हुन् ।
घटनास्थल पहाडी बिकट क्षेत्रमा भएकाले प्रहरी परिचालन गरिएका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरिले बताए । यस्तै, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाको काभ्रेमा बाढीले बगाएर एक जना बेपत्ता भएका छन्।
काभ्रेको भजेनी खोलामा आएको बाढीले बगाएर स्थानीय ६५ वर्षीय बलबहादुर गर्बुजालाई बेपत्ता बनाएको वडा सदस्य हस्तबहादुर पुनले बताए। सोमबार साँझ बाढीमा बेपत्ता गर्बुजाको खोजी भइरहेको छ ।
निरन्तरको भिषण वर्षापछि कालीगण्डकी, म्याग्दी र रघुगंगा नदीमा आएको बाढीले म्याग्दीको विभिन्न ठाउँमा सडक, तीन वटा मोटरेबल र दुई वटा झोलुङ्गे पुल तथा दुई ठाउँमा मन्दिर बगाएको छ।










