अज्ञात समूहले धनगढीका तीन स्थानमा राखेका प्रेसकुकर बम नेपाली सेनाको टोलीले आज निस्क्रिय पारेको छ । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालय नजिक बाटोमा, भौतिक पूर्वाधार विकास मन्त्रालय नजिक मुख्य बाटोमा र एलएनचोक नजिकै रहेको गल्लीमा राखिएका बम सेनाको टोलीले निस्क्रिय पारेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए।
प्रेसर कुकर बाहिरबाट टेपले बाँधिएको, तार बाहिर निकालेको अवस्थामा बम भेटिएको प्रहरी नायब उपरीक्षक विष्टले बताउनुभयो । त्यस्तै लम्किचुहा नगरपालिका कार्यालय नजिकै बाटोमा शङ्कास्पद वस्तु भेटिएको र नेपाली सेनाको टोलीसँग समन्वय भई सेनाको टोली निस्क्रिय गर्न त्यसतर्फ गइरहेको बताइएको छ ।
नगरपालिकाको गाडीमा आगजनी
धनगढी– कैलालीको घोडाघोडी नगरपालिकाका उपप्रमुख प्रेमकुमारी थापाले प्रयोग गर्दै आएको स्कारपियो गाडीमा अज्ञात समूहद्वारा गएराति आगजनी गरिएको छ ।
नगरपालिकाको कर्मचारी आवासगृहको परिसरभित्र पार्किङ गरी राखिएको से१झ २४१ नंको गाडीमा अज्ञात समूहद्वारा आगजनी गरिएको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ ।
स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । गाडीको पछाडि पट्टिको भाग मात्र जलेको छ । साथै सँगै रहेको नगरप्रमुख ममताप्रसाद चौधरी चढ्ने गाडीमा कुनै क्षति नभएको प्रहरीले बताएको छ ।










