मादक पदार्थ सेवन गरेर सवारी साधन चलाएको थाहा पाएमा अब कारवाहीमा पर्नेले मेडिकल रिपोर्ट पेश गर्नुपर्ने भएको छ । कोरोनाभाइरस (कोभिड– १९)का कारण सडकमा खटिएका ट्राफिक प्रहरीले ब्रेथलाइजरमार्फत मापसे चेक गर्न कठीन हुने भएपछि मेडिकल चेक गर्नुपर्ने अनिवार्य व्यवस्था गरिएको हो ।
बन्दाबन्दीको अवधि सकिएको र सवारी साधनमा जोरबिजोर हटेसँगै उपत्यकामा सवारी आवागमन सामन्य अवस्थामा फर्किन लागेको छ ।
मापसे गरेर कसैले सवारी चलाएको प्रहरीले भेटिएमा अब मेडिकल रिपोर्ट पेश गर्नुपर्ने व्यवस्था गर्न लागिएको ट्राफिक प्रहरी प्रमुख एसएसपी भीम ढकालले जानकारी दिए ।
मापसे गरेर सवारी साधन चलाएको पाइएमा उनीहरूलाई महाशाखामा ल्याएर मेडिकल गर्ने र मेडिकलको पैसा मापसे गर्नेले नै तिनुपर्ने व्यवस्था गरिएको ढकालले लोकान्तरलाई जानकारी दिए । उनीहरूले ट्राफिक प्रहरीको क्लास भने पछि लिनुपर्नेछ । लकडाउनको समयमा पनि सडकमा मापसे गरेर सवारी चलाउने गरेको घटना पाइएको उनले बताए ।










