बुटवल । कपिलवस्तुको यशोधरा गाँउपालिकाका स्वास्थ्य कर्मचारी जोखिम भत्ता नपाएपछि चरणबद्ध आन्दोलनमा जाने भएका छन् । जिल्लाको सबैभन्दा बढी कोभिड जोखिम गाउँपालिका मानिने यशोधरा गाउँपालिकामा कोरोना संक्रमणका बेला काममा खटिएका स्वास्थ्यकर्मीले जोखिम भत्ता नपाएपछि गाँउपालिकाका स्वास्थ्यका कर्मचारीले आन्दोलन थालेका हुन् ।

पालिकाभरका स्वास्थ्य कर्मचारीहरुको बैठकले कर्मचारीले जोखिम भत्ता व्यवस्थापन आदेश २०७७ मा उल्लेख भएअनुसार पाउने भत्ता नपाए स्वास्थ्य केन्द्रबाट प्रवाह गरिने सेवा ठप्प पार्ने निर्णय गरेका छन् । साउन ४ गते बसेको उनीहरुको बैठकले आफना मागहरु पुरा नभए चरणबद्ध आन्दोलनमा जाने निर्णय गरेको छ । स्वास्थ्यकर्मीले गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र ढकाललाई ज्ञापनपत्र बुझाएका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यशोधरा गाँउपालिकाले हालसम्म कोरोना संक्रमण सचेतना, राहत र व्यवस्थापन सम्बन्धि कार्यक्रमकै लागी २ करोड २८ लाख बढि रकम खर्च गरेको बताइएको छ । तर कार्यक्षेत्रमा खटिएर काम गरेका स्वास्थ्यका कर्मचारीलाई सरकारले देऊ भनेको सुविधा समेत खोसिएको स्वास्थ्यकर्मीले गुनासो रहेको छ । यशोधरा गाउँपालिकाका प्रमुख गिरीजेशकुमार पाण्डेले बजेट अभावका कारण जोखिम भत्ता दिन नसकिएको बताए ।