उत्तम रिजाल, दमक/ कोरोना भाइरस सङ्क्रमणका कारण गत चैत ११ देखि सुरु भएको लकडान मङ्गलबार मध्यरातदेखि अन्त्य भएको छ । लकडाउन खुलेसँगै १२० दिन लामो लकडाउनमा बन्द भएका छोटा दूरीका सवारीसाधन चल्न थालेका छन् ।
तर यी सवारीसाधन सञ्चालनले सङ्क्रमणको जोखिम बढाएको छ । मङ्गलबार मध्यरातबाट लकडाउन अन्त्य भएसँगै बुधबार बिहानैदेखि देशभर छोटा दूरीका सवारीसाधन सञ्चालन भएका हुन् ।
पूर्वका विभिन्न जिल्लामा पनि चार महिनासम्म थन्किएका सवारीसाधन सडकमा देख्न सकिन्थ्यो । तर ती सवारीसाधनमा सावधानी तथा सतर्कता भने अपनाएका थिएनन् ।
ती सवारीले सरकारले तोकेको सामान्य मापदण्डसमेत अपनाएका छैनन् । लाग्थ्यो कि कोरोना भाइरसको महामारी सदाका लागि अन्त्य भइसकेको छ । र गाडीहरु चल्न सुरु गरेका हुन् ।
बुधबार झापाको दमकमा पनि यस्तै दृश्य देखियो । धरानबाट आएको एउटा बसमा एउटै सिटमा दुई जना त थिए नै, उनीहरुले न मास्क लगाएका थिए न त दूरी नै कायम थियो । यो त प्रतिनिधि सवारी मात्र थियो । यस्ता दर्जनौँ गाडी झापामा आए र इटहरी, धरान विराटनगर गए पनि ।
धरानबाट आएर दमकमा ओर्लिएका एक जना यात्रुलाई सोध्दा उनले आफूलाई डर भए पनि आउनैपर्ने बाध्यता भएकाले आएको बताए । तर उनले न गाडीमा स्यानिटाइजर पाए, न त सिटमा एक्लै बस्नु भनेर नै भनियो ।
उनी कतै कोरोना सङ्क्रमित कोही रहेछ भने मलाई पनि सर्छ होला भन्दै त्रासका साथ आए । उनले भने, "गाडीमा चडेँ, स्यानिटाइजर दिन्छन् होला भनेर सोचेको थिएँ, तर रहेनछ ।"
ती यात्रु धरानबाट एक सय ८० रुपैयाँ तिरेर आएका रहेछन् । उनले भने, "म एक सय ८० रुपैयाँ तिरेर आएको हुँ । दोब्बर भाडा तिरेँ, तर बसमा न स्यानिटाइजर थियो, न त एउटा सिटमा एक जना मात्र बस्नु भनेर नै भनियो । कति सिटमा त दुई जना पनि बसेका थिए ।"
उनीजस्तै अरु यात्रुको पनि कुरा उस्तै थियो । कमल गाउँपालिकाका अर्का एक जनाले पनि यस्तै सुनाए । जुन दृश्य प्रायःजसो गाडीमा उस्तै देखिन्थ्यो । उनी पनि दोब्बर भाडा तिरेर आएका रहेछन् । कुनै पनि गाडीका चालकले पीपीई लगाएका थिएनन् भने कतिपय गाडीका चालकले ग्लोब्ससमेत लगाएका थिएनन् । सहचालकको पनि त्यस्तै थियो अवस्था ।
सामान्य सावधानी नअपनाएको देखेपछि झापाका सहायक प्रमुख जिल्ला अधिकारी राजकुमार राईसँग यस विषयमा कुरा गर्दा वहाँले क्याबिनेटबाट गरेको निर्णय सुनेको तर माथिबाट नयाँ निर्देशन केही नआएकाले के गर्ने भन्ने नभएको जवाफ दिनुभयो ।
वहाँले स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्नु भन्ने निर्देशन भए पनि त्यो पालना नभएकाले छिट्टै जिल्लाले यस विषयमा सूचना निकालेर जानकारी गराउने पनि बताउनु भयो ।
राईले नागरिक आँफै सचेत हुनुपर्ने पनि बताउनु भयो । साथै वहाँले यस विषयमा प्रहरीसँग कुरा गर्ने पनि बताउनु भयो । सरकारले अन्तरजिल्ला सार्वजनिक सवारीसाधन सञ्चालन भने भदौ १ सम्म बन्द गरेको छ । तर, सोको पनि पालना भएको छैन ।
कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि बन्द गरिएका अधिकांश क्षेत्रलाई सरकारले खोलेको छ । यद्यपि, केही क्षेत्रहरुमा भने प्रतिबन्ध कायम नै छ । अधिकांश क्षेत्र खुलेपछि जनजीवन सामान्य रुपमा फर्कन थालेको छ । मानिसहरुको आवागमन बढेपछि मुख्य सडकहरुमा सवारीसाधनको चाप बढेको छ ।
सडकमा निजी तथा सार्वजनिक सवारीसधानहरु बाक्लो संख्यामा देखिएका छन् । तर, सर्तकता भने अपनाइएको पाइएको छैन । सडकमा मानिसहरुको उपस्थिति बाक्लो छ ।
तर, मास्क लगाएका यात्रुको सङ्ख्या भने न्यून मात्र छ । बजार तथा पसलमा मानिसको भिड छ । पसलहरुमा पनि न्यूनतम सावधानीसमेत अपनाइएको छैन ।
हुन त जनजीवन समान्य बनाउन लकडाउन खोले पनि सङ्क्रमणको जोखिम कायम नै रहकाले सतर्क रहन सरकारले आग्रह गरेको छ । तर, सोको पूर्ण रुपमा पालना भएको छैन ।
सवारी सञ्चालन हुनु तथा पसल बजार खुल्नु राम्रो भए पनि सर्तकता र सावधानी नअपनाउँदा आउने जोखिमतर्फ सम्बन्धित निकायले ध्यान नदिनुले जोखिम भने बढाएको छ ।
उच्च सतर्कता नअपनाए अब सङ्क्रमण छिट्टै फैलने स्वास्थ्यविज्ञहरुले चिन्तासमेत व्यक्त गरेका छन् । तसर्थ यसतर्फ संबन्धित निकायले बेलैमा ध्यान दिन जरुरी छ । अन्यथा भयावह स्थिति नआउला भन्न सकिन्न । फाइल तस्बिर










