रतुवामाई, २१ साउन । मोरङको रतुवामाई नगरपालिका आजदेखी सिल भएको छ । समुदायमा कोरोना भाईरसको जोखिम बढेकाले नगरपालिकाले राती १२ बजेदेखी आगामी साउन ३० गते राती १२ बजेससम्म नगरलाई सिल गरेको हो ।
अब भारतसँगको सिमा र अन्य स्थानीय तहसँगको सिमालाई बन्द गरेर रतुवामाई नगरपालिका सिल गरिएको नगर प्रमुख रविन राईले जानकारी दिनुभयो । नगरभित्र बिहान १० बजेसम्म अत्यावश्यक पसल भने खुल्ला हुने भएको छ । नगरपालिकाले आजदेखी नगरपालिका कार्यालय र मातहतका सम्पुर्ण वडा कार्यालयहरुको सेवा प्रवाह बन्द गरेको छ ।
नगरपालिका स्तरीय कोरोना भाईरस रोकथाम नियन्त्रण प्रतिकार्य तथा व्यवस्थापन कार्यदलको बैठकले नगरपालिकाभित्रका सरकारी तथा गैरसरकारी कार्यालय, संघसस्था, सहकारीहरुको सेवा पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ । बैठकले बित्तिय संघसंस्थाहरुको कार्यालय र सेवा पनि बन्द गर्ने निर्णय गरेको छ । कोरोना भाईरस समुदायमा फैलन नदिन अत्यावश्यक बाहेक नगरभित्र सम्पुर्ण यातयात संचालन र सर्वसाधरणको आवत जावत पनि बन्द गरिने भएको छ ।










