काठमाण्डाै – सरकारले होम आइसोलेशनमा बस्न चाहने कोरोना संक्रमितका लागि मापदण्ड तोकेको छ ।

कुनै सङ्क्रमित व्यक्ति आफू घरमै आइसोलेशनमा बस्न चाहेमा उसले पालना गर्नुपर्ने मापदण्डहरु स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको हो । होम आइसोलेसनमा सङ्क्रमितले पर्याप्त प्रकाश आउने र हावा खेल्ने छुट्टै कोठामा बस्नुपर्ने, उपचार अवधिभर आवश्यक पर्ने सामानहरु परिवारका सदस्यहरुसँग मगाउने, पर्याप्त मात्रामा पानी, झोलिलो र पोसिलो खानेकुरा खानुपर्ने छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यस्तै आफूले प्रयोग गरेका भाँडाहरु सुरक्षित रुपमा सफा गरेर राम्रोसँग सुकेपछि मात्रै पुनः प्रयाग गर्नुपर्ने, स्नानघर वा शाैचालयको छुट्टै व्यवस्था मिलाउनुपर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो ।

सामुहिक रुपमा शाैचालयको प्रयोग गर्नुपर्ने अवस्थामा सङ्क्रमितले राम्रोसँग प्रयोग गरेपछि राम्रोसँग डिसइन्फेक्सन गरेर मात्रै अरुले प्रयोग गर्नुपर्ने मापदण्ड तोकिएको छ । यस्तै दाँत माझ्ने ब्रस लगायतका सामानहरु बेसिन बाहेक अन्य स्थानमा छुट्टै राखेर प्रयोग गर्ने, घरका ढोका, टेबल लगायत धेरै व्यक्तिले चलाउने सम्भावना रहेका सामानहरु समय समयमा डिसइन्फेक्सन गर्ने, भाँडा र कपडा धुँदा पञ्जा लगाएर धुने र राम्रोसँग सुकाएर मात्र प्रयोग गर्नुपर्ने मापदण्ड तोकिएको छ ।

सङ्क्रमितको हेरचाहमा रहने व्यक्तिले अनिवार्य मेडिकल मास्क प्रयोग गर्नुपर्ने उल्लेख गर्दै उहाँले बढी जोखिममा रहने समूह (दीर्घ रोगी, ६० वर्षमाथिका जेष्ठ नागरिक, गर्भवती र सुत्केरी महिला) लाई टाढा राख्नुपर्ने बताउनुभयो ।

यस्तै दिनमा तीन पटक ज्वरो जाँच गरी रेकर्ड राख्ने र सम्बन्धित स्वास्थ्यकर्मीलाई जानकारी गराउनुपर्ने उहाँले बताउनुभयो । सङ्क्रमितलाई स्वास प्रस्वासमा कठिनाइ भएमा, छाती दुखेमा, ओठ अनुहार नीलो भएमा, होस हराएमा र अन्य जटिल अवस्था देखिएमा तत्काल स्वास्थ्यकर्मीलाई जानकारी गराउन पनि उहाँले आग्रह गर्नुभयो ।

स्थानीय तहमा रहेका स्वास्थ्यकर्मीले दिनमा कम्तिमा दुई पटक सङ्क्रमितको स्वास्थ्य अवस्थका बारेमा जानकारी दिनुपर्ने छ । हरेक स्थानीय तहले ५० जना सङ्क्रमितका लागि १ जना स्वास्थ्यकर्मीको व्यवस्था गर्नुपर्ने उहाँले बताउनुभयो ।

स्वास्थ्यकर्मी वा नर्सले एक जना बिरामी हेरे बापत दिनको २ सय रुपैयाँका दरले पारिश्रमिक पाउने व्यवस्था गरिएको उहाँले बताउनुभयो ।