बलिउड फिल्म अभिनेता सञ्जय दत्त पछिल्लो केही दिनदेखि आफ्नो स्वास्थ्यका लागि चर्चामा छन् । ११ अगस्टमा ६१ वर्षीय अभिनेता फोक्सोको क्यान्सरसँग जुधिरहेको र यो तेस्रो स्टेजमा पुगेको खबर भाइरल भएको थियो । तर भारतीय मिडियाको ताजा रिपोर्टमा उनको क्यान्सर चौथो स्टेजमा पुगिसकेको दाबी गरिएको छ । यो दाबी लीलावती अस्पतालसँग जोडिएको स्रोतलाई उद्धृत गर्दै गरिएको हो जहाँ सञ्जय दत्त शनिबार रातीदेखि भर्ना भएका छन् ।

भारतीय सञ्चार माध्यम मुम्बई मिररले आफ्नो रिपोर्टमा लेखेको छ, ‘सञ्जय दत्तको फोक्सोमा तरल पदार्थ जम्मा भएको थियो त्यसैले उनलाई सास फेर्न समस्या भइरहेको थियो । उक्त तरल पदार्थलाई परीक्षणका लागि पठाइएको थियो । डाक्टरले यो टिबी वा क्यान्सर हुनसक्ने अनुमान पहिले नै गरिसकेका थिए । बुधबार उनको रिपोर्ट आएको छ र उनको फोक्सोको क्यान्सर चौथो स्टेजमा पुगिसकेको थाहा भयो ।’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

रिपोर्टका अनुसार यसबारे सञ्जय दत्तको उपचार गरिरहेका डाक्टर तथा सिनियर पल्मोनोलोजिस्ट डा. जलिल पारकरसँग कुरा गरियो तब उनले यसबारे कुनै प्रतिक्रिया दिन अस्विकार गरे ।

के भएको थियो ८ अगस्टमा ?

८ अगस्टमा सञ्जय दत्तलाई सास फेर्न समस्या भएको थियो र उनको अक्सिजनको लेभल पनि कम थियो । त्यसपछि उनलाई लिलावती अस्पताल पुर्याइयो । त्यहाँ उनको कोभिड–१९ परीक्षण गरियो जुन नेगेटिभ आएको थियो । यद्यपि, उनीहरु त्यसपछि पनि चिन्तित थिए । उनलाई दुई दिनसम्म अस्पतालको नन कोभिड वार्डको आइसीयूमा राखिएको थियो ।

फोक्सोबाट १.५ लिटर तरल पदार्थ निकालियो

टाइम्स अफ इन्डियाको रिपोर्ट अनुसार सञ्जय दत्त अस्पतालमा आफ्नी बहिनी प्रिया दत्त र एक साथीसँग पुगेका थिए । त्यहाँ पुगेपछि थाहा भयो कि उनको दाहिने फोक्सोमा हावाको प्रवाह भइरहेको थिएन । त्यसपछि सिटि स्क्यान गरियो । यसबारे उनको फोक्सोमा तरल पदार्थ जममा भएको र दुई फोक्सोमा एउटा–एउटा घाउ पनि भएको पत्ता लाग्यो । सञ्जयलाई यो ब्याक्टेरियल इन्फेक्सन, क्षयरोग वा क्यान्सर पनि हुनसक्ने बताइयो । करिब १.५ लिटर तरल पदार्थ निकालियो ।

त्यसपछि सञ्जयलाई दिइयो क्यान्सरको जानकारीः

स्रोतका अनुसार जब सञ्जय दत्तलाई उनको तरल पदार्थलाई परीक्षणका लागि पठाइँदैछ भनेर जानकारी दिइयो तब उनले विभिन्न प्रश्न सोधे । त्यतिबेला उनलाई पिइटी स्क्यान गर्नुपर्ने बताइयो । सोमबार पिइटी स्क्यानमा हिस्टोप्याथोलोजी विभागले तरल पदार्थमा क्यान्सरको सेल पनि भेटे ।

त्यसपछि एउटा काउन्सिलिङ सेसन भयो र सञ्जय दत्तलाई उनको रोगबारे जानकारी दिइयो । त्यसपछि उनलाई एक अन्कोलोजिस्टसँग भेट गराइयो जहाँ उनले पूरा एक्सन प्लानबारे जानकारी दिए । डाक्टरले उनलाई इच्छा लागेको ठाउँमा उपचार गर्न सक्ने बताए । यसको एकमात्र उपचार किमोथेरेपी हो । उनको शल्यक्रिया गर्न मिल्दैन किनभने उनको क्यान्सर चौथो स्टेजमा पुगिसकेको स्रोतले दाबी गरेको छ ।