विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘बेसारपानी खाएर एक दुईपटक हाच्छिउँ गर्‍यो कोरोना ठीक भइहाल्छ नि !’ भन्दै दिएको अभिव्यक्तिको चर्को आलोचना भयो । सामाजिक सञ्जालमा पहेंलो रङ पोतेर प्रधानमन्त्रीले कोरोना जोखिमको विषयमा हलुका रुपमा बोलेको भन्दै टिप्पणी पनि भए ।

अहिले धेरै आइसोलेसन सेन्टर र कोभिड १९ उपचार केन्द्रहरूले संक्रमित थेग्‍न छाडेका छन् । धेरै त होम आइसोलेसनमै बस्‍न थालेका छन् । प्रदेश १ को राजधानी विराटनगरमा पनि यो संख्या थपिँदो छ । तर, होम आइसोलेसनमा बस्नेहरूको लागि विराटनगर महानगरपालिकाले ध्यान दिनपर्ने विषय र खाना तथा औषधिबारे दैनिक कार्ययोजना दिएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

महानगरले नगरवासीलाई दिएको खानाको मेन्युमा ‘तातो बेसार पानी’ पनि छ । विराटनगर महानगरपालिका मात्र नभएर होम आइसोलेसनमा बस्‍नका लागि इटहरी अस्पतालले पनि खानपिन तथा औषधिको कार्ययोजना प्रस्तुत गरेको छ । डा. मनीष शर्माद्वारा प्रस्तुत गरिएको होम आइसोलेसनमा निर्देशिकामा तातो दूधमा बेसार, कागती पानी योग र पानीको बाफ लिने विषयवस्तु पनि समेटिएको छ ।

कोरोना संक्रमतिको संख्या बढेसँगै अस्पताल खचाखच भएका छन् । सरकारले तोकेका आइसोलेसन सेन्टर पनि भरिभराउ छन् । पछिल्लो समय विराटनगरमा संक्रमति थपिने क्रम बढेसँगै होम आइसोलेसनमा बस्‍नेहरूको संख्या हरेक दिन थपिँदो छ । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले महानगरले परम्परागत औषधिजन्य जडीबुटीको प्रयोगमा समेत जोड दिएको बताएका छन् ।

उनले भने, “हाम्रो जनस्वास्थ्य महाशाखाका चिकित्सकहरूको सरसल्लाह र छलफलले निर्णय गरेर नै होम आइसोलेसनमा बस्नेहरूका लागि निर्देशिका तयार गरिएको हो ।” महानगरका आइसोलेसनमा बस्‍नेका लागि पनि यही निर्देशिकाअनुसार संक्रमितले दिनचर्या बिताइरहेको पराजुलीले सुनाए ।

विराटनगर महानगरपालिकाले होम आइसोलेसनमा बस्‍नेका लागि २१ बुँदे निर्देशिका जारी गरेको छ । जसमा बिहान उठेर योगाभ्यासबाट दैनिकी आरम्भ हुन्छ । ६ बजे उठ्ने आधा घण्टा योग गर्ने, त्यसपछि तातो कागती पानी लिने, बिहान ८ बजेसम्म नास्ता खाने र त्यसपछि मनतातो दूधमा बेसार हालेर पिउने उल्लेख छ ।

महानगरले साढे १० बजे बिहान होम आइसोलेसनमा बस्‍नेहरूलाई तातोपानीमा बेसारसहित अदुवा, मरिचजस्ता जडीबुटीको मिश्रण सेवन गर्न सुझाव दिएको छ । राति साढे ९ बजे पनि त्यस्तै मिश्रण सेवन गर्न भनिएको छ । योबाहेक भिटामिन सी तथा डीको सेवन गर्नसमेत सल्लाह दिइएको छ ।

पोषणयुक्त खानासहितको निर्देशिका पालना गर्न सके संक्रमित चाँडै नै निको हुने अपेक्षा गरिएको विराटनगर महानगरका मेयर पराजुली बताउँछन् । भन्छन्, “लक्षण नदेखिएका र सामान्य लक्षण भएकाहरूका लागि हामीले प्रस्तुत गरेको दैनिक कार्ययोजना भनौं वा निर्देशिका एकदमै प्रभावकारी देखिएको छ ।”

महानगरले व्यवस्थापन गरेका आइसोलेसन सेन्टरहरूमा खानालगायत सबै व्यवस्थापन महानगरका तर्फबाट भए पनि घरमा बस्‍नेहरूले भने त्यस्ता चिजबिजको आफैं व्यवस्थापन गर्नुपर्छ । विराटनगर महानगरपालिकाले विराटनगर १९ को इलाका स्वास्थ्य कार्यालय र विराटनगरको मारवाडी सेवा समितिको भवनमा आइसोलेसन सञ्‍चालन गरी कोरोना संक्रमितलाई उपचारका लागि राखिएको छ । महानगरमा संक्रमितको संख्या ५६६ जना पुगिसकेका छन् । ७ जनाको मृत्यु भएको छ ।

क्याप्सन : हेर्नुहोस् महानगरले आइसोलेनका लागि जारी गरेको निर्देशिका ।

बाह्रखरी बाट साभार गरिएको