दमक। नेपाली कांग्रेस झापाले मेची अस्पतालनमा कोरोना विरामीको उपचार नगर्न भन्दै प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री केपी ओलीलाई ज्ञापनपत्र बुझाएको छ । नेपाली कांग्रेस प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति झापा क्षेत्र नम्बर ३ का सभापति गणेश पोखरेलद्धारा हस्ताक्षरीत सो ज्ञापनपत्र बुझाउन जिल्ला प्रशासन कार्यालय झापामा करिब ३० जना कांग्रेस नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।
ज्ञापनपत्रमा भनिएको छ, कोरोना संक्रमणले व्यापकता रिइरहेको वर्तमान परीप्रेक्षमा कोरोना विशेष अस्पताल अहिलेको प्राथमिक आबश्यकता हो । तर अत्यन्त संवेदनशील प्रकृतिका यस्ता अस्पताल कुन ठाउँमा निर्माण गर्दा उपयुक्त हुन्छ, यसको यकिन संक्रामक रोग विशेषज्ञ लगायतका विज्ञहरुको टिमबाट गरिनु वाञ्छनीय छ ।
देश विदेशका अस्पतालहरुको अनुभब लगायत स्वास्थ्य क्षेत्रका विशेषज्ञका भनाईलाइ दृष्टिगत गर्दा साँघुरो हाताभित्र रहेको मेची अञ्चल अस्पतालको भवनमा कोरोना संक्रमितहरुको उपचार गर्दा प्रकारान्तरमा घातक परिणाम उत्पन्न हुनसक्छ । यसै यथार्थलाई मध्यनजर गरी मेची अञ्चल अस्पतालमा नभइ उपयुक्त ठाउँको पहिचान गरी त्यस ठाउँमा कोरोना अस्पतालको निर्माण गर्ने झापा जिल्लामा क्रियाशील राजनीतिक दलहरुको सर्वदलीय बैठकबाट निर्णय भएको थियो ।
तर उक्त निर्णयलाई लत्याउँदै अस्पताल भवनमै कोरोना संक्रमणको उपचार गर्न थालेको सरकारको कार्यले हामीलाई अत्यन्त चिन्तित तुल्याएको छ । उसले कोरोना संक्रमणको उपचार अस्पतालको भवनबाट तुरुन्त नयाँ ठाउँमा स्थानान्तरण गर्न यसै ज्ञापनपत्र मार्फत नेपाल सरकार समक्ष जोडदार माग गर्दछौ ।











