गरिबहरुले सस्तो र सहज रुपमा उपचार पाउने लामो इतिहास भएकै कारण वीर अस्पताल गरिबहरुको अस्पतालको रुपमा पनि चीर परिचित छ । तर यही अस्पताललाई पनि सरकारले कोभिड अस्पतालको रुपमा समेत परिणत गरेपछि उक्त अस्पताल कोरोना संक्रमणको इपिसेन्टर बन्ने खतरा बढेर गएको छ ।

कोरोना उपचारको लागि आवश्यक पूर्व तयारी नगरिकनै तथा स्रोत र साधनहरु नजुटाइकनै वीर अस्पताललाई कोरोना अस्पताल बनाइएपछि र धमाधम कोरोनाका विरामीहरु भर्ना गर्न थालिएपछि अहिले वीर अस्पतालका डाक्टर नर्स तथा स्वास्थ्यकर्मीहरु भटाभट संक्रमित हुन थालेका छन् । पछिल्लो जानकारीअनुसार, वीर अस्पतालमा डाक्टर, नर्स तथा स्वास्थ्यकर्मीहरु गरेर एकैचोटि ७१ जनामा आजैमात्रै कोरोना पोजेटिभ पाइएको छ । सोही कारण वीर अस्पतालको ओपीडी भोलि र पर्सि बन्द हुने भएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यसअघि नै वीर अस्पतालका केही डाक्टर तथा कर्मचारीहरुमा कोरोना संक्रमण देखिइसकेको छ । ल्याबका कर्मचारीमा समेत कोरोनापोजेटिभ देखिएको कारण ल्याब नै सील गरिएको अवस्था छ ।

वीर अस्पतालको इमर्जेन्सी कक्षमा कोरोनाका लागि आइसोलेसनका नाममा ५ वटा वेड छुट्याएको छ । तर सो छुट्याइएको बेड पनि सुरक्षित नभएको कारण सोही ठाउँबाट समेत संक्रमण सर्ने खतरा छ ।

हामीलाई प्राप्त जानकारी अनुसार, वीर अस्पतालमा कोभिड र ननकोभिड दुवैथरिका विरामीहरुलाई छ्यासमिस पारेर राखिएका छन् । अहिले पनि युरो सर्जिकल वार्डमा भर्ना गरिएका १४ जना विरामीहरुमध्ये ५ जना कोरोना संक्रमितलाई सँगै राखिएको बुझिएको छ । त्यसै गरी आइसीयूमा पनि एकजना कोभिड विरामीलाई ननकोभिड विरामीसँगै राखिएको पनि बुझिएको छ ।

यतिखेर सरकारले बौलट्टीपूर्ण ढंगले विभिन्न अस्पतालहरुलाई कोरोना अस्पताल गरेर विरामी भर्ना गर्नुलाई नै पुरुषार्थ ठानेको हो कि भन्ने अनुभूति हुन थालेको छ । यो किन पनि भने सरकारले कोभिड अस्पताल घोषित गरेपछि त्यहाँ गैर कोभिड विरामीहरुमा संक्रमण सर्न नदिनका लागि गर्नैपर्ने जनस्वास्थ्यका अत्यावश्यक प्रबन्धहरु गर्नेतिर खासै ध्यान दिइरहेको छैन । कतिसम्म भने अहिले वीर अस्पतालमा कोरोनाका विरामीलाई उपचार सेवा प्रदान गरिरहेका डाक्टरहरुबाट नै गैर कोरोनाका विरामीहरुलाई उपचार गराउने खतरनाक काम समेत भइरहेको बुझिएको छ । वीर अस्पतालमा खटिएका नर्सहरुले कोरोनाका विरुद्ध उचित सुरक्षा प्रबन्धको माग गर्दा उनीहरुलाई राजीनामा दिन धम्काइने गरिएको पनि बुझिएको छ । रातो पाटि बाट साभार