सरकारले विदेशबाट फर्किने नेपालीलाई क्वारेन्टीनमा राख्नका लागि काठमाडौं उपत्यकाका विभिन्न ९ स्थानमा १ हजार ८ सय ५२ बेड क्षमताका क्वारेन्टीन बनाउने भएको छ ।
केही सञ्चालनमा आइसकेका छन् भने केही सञ्चालन हुने क्रममा रहेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताएका छन् । प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिअन्तर्गतको उपसमितिको आइतवारको बैठकमा काठमाडौंका सीडीओ दाहालले कोरोना नियन्त्रणका लागि भएका प्रयासबारे जानकारी गराएका हुन् ।
उनका अनुसार भगवान महावीर जैन निकेतन कमलपोखरीमा ७८ बेड क्षमता, ग्यालेक्सी पब्लिक स्कूल ज्ञानेश्वरमा ८० तथा अग्रवाल भवन कमलपोखरीमा १४० बेड क्षमताको क्वारेन्टीन बनाउन लागिएको छ । यस्तै मोर्डन इन्डियन स्कूल चोभारमा ५ सय ५० बेड क्षमताको क्वारेन्टीन सञ्चालन हुने चरणमा रहेको उनले जानकारी गराए ।
सरकारले भदौ १५ देखि अन्तर्राष्ट्रिय हवाइ उडान खुला गरेकाले स्वदेश फर्कन चाहने नेपालीको व्यवस्थापनका लागि क्वारेन्टीनको संख्या बढाउन लागिएको हो ।
उपसमितिको बैठकमा उपत्यकाका तीनवटै जिल्लाका सीडीओ, उपत्यका नगर फोरमका उपाध्यक्ष एवं ललितपुर उपमहानगरपालिकाका मेयर चिरिबाबु महर्जन, मध्यपुर ठिमीका मेयर लगायत उपस्थित थिए । नेकपा सांसद जीवनराम श्रेष्ठ संयोजकत्वको उपसमितिमा, अञ्जना विशुंखे, एकवाल मिया, तिलक महत क्षेत्री, नमिता चौधरी, सन्तकुमार थारु, सरिता न्यौपाने लगायत सदस्य छन् । उपसमितिले कारोनाको संक्रमण व्यवस्थापनबारे छलफल गरिरहेको छ ।
हेर्नुहोस्, सूची :




![ग्यालेक्सीदेखि मोर्डन इन्डियन स्कूलसम्म क्वारेन्टीन बन्ने, कहाँ–कहाँ बन्दैछन् ? [सूचीसहित]](/wp-content/uploads/2020/09/isolation_in_butwal.jpg)






