जनकपुर । प्रदेश नम्बर २ मा २४ घण्टामा १ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस प्रदेशमा कोरोना संक्रमितको संख्या ११ हजार ६ सय ६५ पुगेको स्वास्थ्य निर्देशनालय प्रदेश– २ का वरिष्ठ जनस्वास्थ्य प्रशासक विजयकुमार झाले जानकारी दिए ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर, नारायणी उपक्षेत्रीय असपताल वीरगंज र गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताल राजविराजमा गरिएको परीक्षणबाट सबैको रिपोर्ट पोजेटिभ आएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बिहिबार सबैभन्दा बढी सर्लाहीमा ४२, धनुषामा २२, सिरहामा २१, बारामा १५, सप्तरीमा १५, पर्सामा ९ र रौतहटमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ । कोरोना संक्रमण पुष्टि भएका संक्रमितमा २४ महिला र १ सय २ पुरुष रहेको वरिष्ठ जनस्वास्थ्य प्रशासक झाले जनाए ।

त्यस्तै पछिल्लो २४ घण्टामा ८९ महिला सहित ३ सय ६ जना संक्रमित निको भई घर फर्केका छन् भने यससँगै कोरोनाबाट निको हुनेको संख्या ६ हजार २ सय ४७ पुगेको उनले बताए । आज सबैभन्दा बढी बारामा २ सय ८ जना डिस्चार्ज भएको छ ।

त्यस्तै पर्सामा ८६, धनुषामा ८, सप्तरीमा ३ र सिरहामा १ जना संक्रमित निको भएर घर फर्केको उनले बताए ।

कोरोना संक्रमणबाट बिहिबार धनुषामा एकजनाको मृत्यु समेत भएको छ । यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या यस प्रदेशमा १ सय ७ पुगेको उनले जानकारी दिए ।

कोरोना संक्रमण अहिलेसम्म पर्सामा ३९, बारामा १६, धनुषामा १३, महोत्तरीमा ११, सिरहामा १०, सप्तरीमा ८, रौतहटमा ५, सर्लाहीमा ४ र १ भारतीय नागरिकको मृत्यु भएको छ ।