काठमाडौं, २८ भदौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको चार वर्षे कार्यकाल आज (आइतबार) पूरा हुँदैछ ।
२०७३ भदौ २९ मा कार्यकारी निर्देशक नियुक्त भएका कुलमान घिसिङको चार वर्षे कार्यकाल सकिँदै गर्दा अब प्राधिकरणमा अबको प्रमुखका रुपमा को आउँछन् भन्ने चासो बढेको छ । तर, यसको अहिलेसम्म कुनै टुङ्गो भने छैन । प्राधिकरणका कर्मचारीले उनलाई औपचारिक रुपमा विदाइ गर्ने भएका छन् ।
तत्कालीन ऊर्जामन्त्री राधा ज्ञवालीले घिसिङलाई चिलिमे जलविद्युत् कम्पनीको प्रबन्ध सञ्चालक हुँदा काम सन्तोषजनक नभएको भन्दै प्राधिकरण केन्द्रीय कार्यालयमा तानेकी थिइन् । त्यसपछि ऊर्जामन्त्री बनेका जनार्दन शर्माले घिसिङलाई कार्यकारी प्रमुखमा नियुक्त गर्न प्रस्ताव गरेका थिए ।
चिलिमे जलविद्युत कम्पनीबाट प्राधिकरणको केन्द्रीय कार्यालयमा तानिएर जिम्मेवारीविहीन बनाइएका उनी खुला प्रतिष्पर्धामार्फत प्राधिकरणको नेतृत्वमा आएका थिए । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र तत्कालीन उर्जामन्त्री जनार्दन शर्माले उनको नियुक्ति गरेका थिए ।
२०५१ सालमा सातौं तहको इन्जिनियरबाट नेपाल विद्युत प्राधिकरणमा प्रवेश गरेका घिसिङ २०७३ भदौ २९ गते प्राधिकरणको कार्यकारी निर्देशकका रुपमा नियुक्त भएका थिए ।
प्राधिकरणबाट आज कुलमान विदा हुँदै गरे पनि उनी दोस्रो कार्यकालका लागि दोहोरिने चर्चा पनि चलिरहेको छ । तर, अहिलेसम्म मन्त्रिपरिषदमा उनलाई दोहोर्याउने गरी प्रस्ताव पुगेको छैन । मन्त्रिपरिषदको नियमित बैठक सोमबार मात्रै भएकाले प्राधिकरणका नयाँ कार्यकारी निर्देशक नियुक्तिको निर्णय भोलि मात्रै हुने सम्भावना छ ।
सरकारले कुलमानलाई नदोहोर्याउने इच्छा गरे पनि जनस्तरबाट दोहोर्याउन दबाव छ । अर्को कार्यकालमा दोहोरिन घिसिङ आफैं पनि इच्छुक छन् ।
मन्त्रिपरिषद्ले घिसिङलाई पुनः नियुक्त नगरे प्राधिकरणमा उनको कार्यकारी भूमिका सकिनेछ । प्राधिकरणमा नियुक्त भएकै वर्ष लक्ष्मीपूजाका दिन काठमाडौं उपत्यकामा लोडसेडिङ हुन नदिएपछि उनको चर्चा चुलिएको थियो । त्यसपछि क्रमशः देशैभर लोडसेडिङ अन्त्य गर्न भूमिका खेलेका थिए ।
मन्त्रालयले हालसम्म कुनै प्रस्ताव भने गरिसकेको छैन् । मन्त्रालयले प्रस्ताव गरी नसकेको ऊर्जा सचिव दिनेशकुमार घिमिरेले जानकारी दिएका छन् । मन्त्रालयले प्रस्ताव नगरिसकेको भए पनि लामो समयसम्म उक्त पद खाली भने नराख्ने उनले बताएका छन् ।










