काठमाडौं । विपद्मा बालअधिकारको सुनिश्चितताः हामी सबैको साझा प्रतिबद्धता भन्ने नाराका साथ यस वर्षको राष्ट्रिय बाल दिवस आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय र मातहातका कार्यालय एवं बालकालिकाका क्षेत्रमा काम गर्ने संघसंस्थाले विभिन्न कार्यक्रम गर्दैछन् । तर यस वर्ष कोरोना महामारीका कारण औपचारिक कार्यक्रम भने हुने छैन । दिवसको अवसरमा राष्ट्रपति विद्यादेवि भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना सन्देश जारी गर्दै संविधान र कानूनले प्रत्याभुत गरेका बालबालिकाका अधिकार कार्यान्वयन गर्न सरकार प्रतिवद्ध रहेको बताउनु भएको छ ।
बालअधिकारको क्षेत्रमा अझ बढी सफलता हाँसिल गर्न आ–आफ्नो क्षेत्रबाट क्रियाशील हुन सबै पक्षलाई आह्वान गर्नु भएको छ । आजबाट बालबालिकामैत्री क्वारेन्टाइनको शुरुवात हुने भएको छ । राष्ट्रिय बाल दिवसको अवसर पारेर प्रधानमन्त्री केपी शर्मा ओलीले बालबालिकामैत्री क्वारेन्टाइनको शुरुवात गर्न लाग्नु भएको हो ।
नेपालले प्रत्येक वर्ष भदौ २९ लाई राष्ट्रिय बाल दिवसको रुपमा मनाउने गरेको छ । सन् १९९०, सेप्टेम्बर १४ मा नेपालले बालअधिकार सम्बन्धी महासन्धिलाई अनुमोदन गरेको दिनलाई बालबालिकाको विशेष दिनको रुपमा लिइ राष्ट्रिय बाल दिवसको रुपमा मनाउने गरिएको छ । विक्रम सम्वत २०२२ सालदेखि भदौ ४ गते मनाउन शुरु गरिएको बाल दिवस २०६३ पछि भने भदौ २९ गते मनाउन थालिएको हो ।










