भारतीय नागरिक शम्भु महतो २० वर्षदेखि कीर्तिपुरमा अनेक इलम गरेर तीन छोरा र श्रीमतीसहितको परिवार पालिरहेका थिए ।

लकडाउनअघिसम्म सार्वजनिक बसमा सहचालक रहेका उनी यातायात बन्द भएपछि कीर्तिपुरमै फलफूल बेच्न थाले । करिब १४ महिनाअघि उनले कीर्तिपुर नगरपालिका–७ भाजंगलमा मासिक चार हजार तिर्ने गरी दुईवटा कोठा भाडामा लिएका थिए । लकडाउन भए पनि उनले जेनतेन भाडा बुझाइरहेका थिए । तर घरधनी प्रेम महर्जनसँग राम्रो सम्बन्ध थिएन । उनै घरधनी महर्जनले शुक्रबार साढे १२ बजेतिर डेरावाल शम्भुमाथि अकस्मात् गजबारले प्रहार गरे । प्रहरीले कीर्तिपुर अस्पताल पुर्‍याए पनि शम्भुको ज्यान गयो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

शम्भुका जेठा छोरा १६ वर्षीय राहुलका अनुसार बिहीबार घरधनीसँग नोकझोंक भएपछि उनले तुरुन्तै अर्को डेरा खोजेका थिए । घटनाको दिनसम्म भान्साको सामानबाहेक अरू सबै सारीवरि छोराहरू नयाँ कोठामा बस्न थालेका थिए । शुक्रबार डेरामा आमासँग रहेका बेला घरधनीले टाउको र छातीमा गजबारले हानेको उनले बताए । ‘न भाडा तिर्न बाँकी थियो, न अरू नै केही ठूलो विवाद थियो,’ राहुलले भने, ‘तर मेरो बाबुको हत्या भयो ।’

अनुसन्धानमा संलग्न एक प्रहरीले पनि घरधनीले ज्यानै जाने गरी हान्नुपर्ने ठोस कारण केही नदेखिएको र पैसाको विषयमा पनि विवाद नरहेको बताए । ती प्रहरीले लकडाउनका बेला डेरा छोडेपछि घर खाली रहने भएकाले घरधनी तनावमा आएको हुन सक्ने अनुमान गरे । घटनाको अनुसन्धानमा जुटेका प्रहरीका अनुसार जारमा रहेको पानी लैजाने कि त्यहीं छाड्ने भन्ने विषयमा झगडा भएको देखिन्छ । घटनालगत्तै पक्राउ परेका महर्जनले पनि प्रहरी बयानमा पानीको निहुँमा झगडा भएको अनि आफूले हिर्काएको बताएका छन् ।

पीडित परिवारले महर्जन, उनकी श्रीमती, दुई छोरा र दुई छोरीविरुद्ध किटानी जाहेरी दिएका छन् । प्रहरीले बाबु प्रेमसहित दुई छोरालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त कालीमाटीका डीएसपी रुकेश तन्डुकारले पक्राउ परेका तीनै जनालाई अदालतबाट ७ दिनको म्याद लिएर थुनामा राखिएको बताए । मृतकका छोरा राहुलले घटनालगत्तै घरधनी प्रेमकी श्रीमतीले आफूलाई मुद्दा मिलाउन पैसाको अफर गर्दै दबाब दिएको बताए । ‘कति पैसा चाहिन्छ ? केस क्लोज गरिदेऊ भनेर दबाब दिएका थिए । मैले मेरो बाबु फिर्ता ल्याइदेऊ भनें,’ उनले सुनाए ।

मृतक परिवार, आफन्त र शुभेच्छुकले प्रहरीले अनुसन्धान कमजोर बनाएको, किटानी जाहेरी दिएका सबैलाई पक्राउ नगरेको र अनुसन्धानमा कमजोरी गरेको भन्दै शनिबारयता वृत्त अगाडि नाराबाजी गरिरहेका छन् । मृतकका आफन्त विनोद चौधरीका अनुसार मंगलबार मात्रै मृतकको पोस्टमार्टम गरिने तयारी भएको बताए । ‘निष्पक्ष छानबिनका लागि दबाब दिन संघर्ष समिति बनाइएको छ,’ उनले भने, ‘अनुसन्धान नटुंगिएसम्म आन्दोलन जारी रहन्छ ।’

घटनास्थल रहेको वडा नम्बर ७ का अध्यक्ष राजकुमार मालीले घटनामा दोषी नउम्कियोस् र निर्दोष नफसुन् भनेर आफूहरूले पनि सबै प्रत्यक्षदर्शीसँग सोधपुछ गरेको बताए । त्यसो त भाजंगल टोलवासीले जारी गरेको भनिएको एक विज्ञप्ति सोमबार सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको छ । जसमा घटनाको प्रत्यक्षदर्शीभन्दा बाहिरका मान्छेले अफवाह फैलाएको र त्यसले टोलवासीको अपमान गरेको उल्लेख छ । कान्तिपुर दैनिकमा जनकराज सापकोटाले खबर लेखेका छन् ।