नेकपा उपाध्यक्ष एवं राष्ट्रिय सभाका नव नियुक्त सदस्य वामदेव गौतमले नेपालमा समाजवाद स्थापना गर्ने नेकपाको संकल्प पूरा गर्न राष्ट्रिय सभामा भूमिका खेल्ने बताएका छन् ।
राष्ट्रिय सभाको गरिमा बढाउनका लागि निर्वाह गर्नुपर्ने कर्तव्य पूरा गर्ने उनले बताए । संसद् सचिवालयमा बिहीवार राष्ट्रिय सभा सदस्यको शपथ लिएपछि संक्षिप्त सम्बोधन गर्दै गौतमले मुलुकको पक्षमा काम गर्ने बताएका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीवार दिउँसो नै गौतमलाई राष्ट्रिय सभा सदस्यमा नियुक्त गरेकी थिइन् ।
‘राष्ट्रिय सभाको गरिमा बढाउनका लागि संविधान र नियमावली अनुसार मैले निर्वाह गर्नुपर्ने कर्तव्य पूरा गर्न आएको छु । मैले यो सभाको सदस्य रहँदासम्म कहिले पनि राष्ट्रिय सभाको गरिमा र प्रतिष्ठा गिराउने कुनै क्रियाकलाप गर्ने छैन,’ गौतमले भने, ‘मैले राष्ट्रिय सभाको जिम्मेवारी पूरा गर्दा नेपालको स्वतन्त्रता, राष्ट्रियता, सार्वभौमिकता र नेपाली जनताप्रति सधैँ बफादार भएर मैले आफ्नो कर्तव्य निर्वाह गर्नेछु ।’
गौतमले नेपालमा समाजवाद स्थापना गर्ने नेकपाको संकल्प राष्ट्रिय सभामा रहेर पूरा गर्ने बताए । ‘हाम्रो पार्टी (नेकपा)ले नेपालमा समाजवाद स्थापना गर्ने संकल्प गरेको छ, त्यो संकल्पबमोजिम त्यो कार्य सम्पन्न गर्नका लागि के कति भूमिका निर्वाह गर्नसक्छु, त्यो भूमिका गर्नेछु,’ गौतमले भने । हेर्नुहोस्, भिडियो :
https://youtu.be/BYI5qwAIhaIलोकान्तर बाट साभार










