पर्साको वीरगन्जमा बुधबार २१ जना युवा तम्तयार भएर लोकसेवा परीक्षा दिँदै थिए ।

पछिल्लो समय कोरोनाभाइरस महामारीका कारण लोकसेवा आयोगले कुनै पनि परीक्षा लिन सकेको छैन । तर, वीरगन्जमा जो परीक्षा दिइरहेका थिए, उनीहरुलाई लाग्यो– त्यो साँच्चिकै लोकसेवाको विशेष परीक्षा थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

अनि यी २१ युवाले परीक्षा दिएका थिए– नेपालका विभिन्न सरकारी सेवामा जागिर खान । र, उनीहरुले अहिलेसम्म सरकारले कहिल्यै नलिने पार्टी प्यालेसमा यो परीक्षा दिइरहेका थिए ।

यो सब कामको ग्रान्ड डिजाइन गरेका थिए, एक व्यक्तिले ।

ग्रान्ड डिजाइन भनेपछि पक्कै पनि सबैले अनुमान गर्न सक्छौँ, यो नक्कली परीक्षा थियो । सक्कली जस्तै लाग्ने एउटा ठगीको यो कथा झट्ट सुन्दा पत्याउन सकिने खालको छैन । तर, यो नपत्याउनु पनि अब असम्भव छ किनकि प्रहरीले ती ‘नक्कली सरकारी जागिर खुवाउने’ व्यक्तिलाई पक्राउ गरिसकेको छ ।

पक्राउ परेका हुन्, अजयकुमार राय । बारा सिमरा ७ का २९ वर्षे यी युवाले यो परीक्षा लिनुभन्दा पहिले आफूलाई नक्कली इन्स्पेक्टर बनाइसकेका थिए ।

यसका लागि उनले लामो समय मेहनेत गरेका थिए ।

आउनुहोस्, पढौँ, नक्कली लोकसेवा आयोगको परीक्षा लिने यी युवाको कथा र यो घटनामा आएका मोडहरु ।

नौ महिनाअघिको कुरा हो । बाराका रायले केही युवाहरुलाई ठगेर पैसा कमाउने सोच बनाए । यसका लागि उनले सबैभन्दा सहज माध्यम पाए– नक्कली प्रहरी बन्ने ।

त्यसका लागि उनले लामो समय प्रहरीको हाउभाउ र तौरतरिकाको विषयमा अध्ययन गरे । प्रहरी हिरासतमा रायले भनेका छन्– यो सबका लागि मैले ९ महिना खर्चिएको हुँ ।

नक्कली इन्स्पेक्टर बन्न रायले वीरगन्जका दुई प्रहरी कार्यालयमा बारम्बार आफ्नो ‘भ्रमण’ गरेका रहेछन् । परवानीपुर र नगवा प्रहरी कार्यालयमा पुगेर त्यहाँका इन्चार्ज र प्रहरीबाट सूचना लिन थालेका रहेछन् । त्यसका लागि उनी स्वयं इन्स्पेक्टर बनेर त्यहाँ पुगिरहेका हुन्थे ।

प्रहरीले पक्राउ गरेपछि रायले यो जानकारी दिएका छन् ।

आफूलाई इन्स्पेक्टर बनाउन रायले काठमाडौंबाट नै प्रहरीको बर्दी खरिद गरेर लगाएका रहेछन् । कोही नझुक्किएलान् भनेर उनले इन्स्पेक्टरको नक्कली कार्ड पनि बनाएका थिए, फुली र तक्मा पनि नक्कली नै बनाएका थिए ।

लामो समयको प्रयासमा नक्कली इन्स्पेक्टर बन्न सफल भएपछि रायले बनाए नयाँ डिजाइन– लोकसेवा परीक्षा लिने र युवाहरुलाई ठग्ने ।

त्यही उनको योजनाको पटाक्षेप भयो, बुधबार । जब उनले पार्टी प्यालेसमा नक्कली प्रश्नपत्र छपाएर सक्कली युवाहरुलाई बेन्चमा राखे र कडा निरीक्षक भएर परीक्षा लिन थाले ।

प्रहरीले स्थानीयबाट यो सूचना पाएपछि पार्टी प्यालेस पुग्यो । अनि बल्ल ती सक्कली विद्यार्थीले थाहा पाए, आफूहरुबाहेक अरु सबै नक्कली रहेछ ।

प्रहरी त्यो पार्टी प्यालेसमा पुग्दा सुरुमा त अलमलमा पर्यो । पार्टी प्यालेसमा पुगेका प्रहरी जवानहरु झुक्किए किनकि त्यहाँ थिए, इन्स्पेक्टरको बर्दीमा राय ।

उनीहरुले तत्काल एसपीलाई फोन गरे र भने– यहाँ त इन्स्पेक्टर साब पो हुनुहुन्छ ।

पर्सा जिल्ला प्रशासन कार्यालय होस् या प्रहरी कार्यालय यो खालको परीक्षाबारे त्यसअघि कुनै सूचना थिएन । होस् पनि कसरी नक्कली इन्स्पेक्टर रायको ठगी धन्दा थियो यो । त्यसैले पर्सा प्रहरीका प्रमुख गंगा पन्तले तत्काल इन्स्पेक्टर भए पनि त्यसलाई पक्राउ गर्नु भन्ने आदेश दिइन् ।

प्रहरीले रायलाई पक्राउ गरेर प्रहरी कार्यालय पुर्यायो । अनि बल्ल थाहा भयो, यी नक्कली इन्स्पेक्टर रायसँग असईको नक्कली प्रवेशपत्र २ थान, इन्सपेक्टरको नक्कली प्रवेशपत्र २१ थान, इन्सेक्टरको प्रश्नपत्र २६ थान, खरिदारको प्रवेश पत्र १ थान रहेछ ।

अनि यी प्रश्नपत्र उनले आफूले ठगेका युवाहरुलाई परीक्षामा सामेल गराउनका लागि बनाएका रहेछन् । यसका लागि उनले १३ जनाबाट ३ लाख ६१ हजार रुपैयाँ लिएका रहेछन् । तर, परीक्षामा पास गराइदिएपछि आफूलाई ६ लाखसम्म दिनु पर्ने उनले युवाहरुलाई बताएका रहेछन् ।

अहिले नक्कली इन्स्पेक्टर बनेका राय पहिले पनि ठगी मुद्दामा जेल परेका रहेछन् । २०७२ सालमा बाराले उनलाई सरकारी कागजात कीर्ते मुद्दा चलाएको खुलेको छ ।

प्रहरीले यो विषयमा अनुसन्धान गरेर थप ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बारा जितपुरका हिरालाल महतो, बसन्त चौधरी र बीरगन्जका रविकुमार चौरसिया, शिवनारायण चौरसिया र रामजी चौरसिया रहेका छन् । फरक धार बाट