प्रधानमन्त्री केपी शर्मा ओलीले बडा दशैंको उपलक्षमा ट्वीट गरेको शुभकामनामा प्रयोग भएको निशान छापमा रहेको नक्सालाई विवादमा तान्न खोजिएकोप्रति प्रधानमन्त्रीको सचिवालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

प्रधानमन्त्रीले प्रयोग गरेको नेपालको नक्सामा लिम्पियाधुरा नरहेको भन्दै सामाजिक सञ्जालमा ब्यापक आलोचना भएको थियो । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले समेत यसबारे प्रश्न उठाएका थिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यसबारे स्पष्टिकरण दिँदै प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भनेका छन्, ‘नक्साको सानो आकार प्रयोग गर्दा यस्तो हुनु स्वभाविक हो । यस तथ्यलाई केही ठूलो आकारको सोही नक्सामा प्रष्ट देख्न सकिन्छ । डिजाइनको यति सामान्य वास्तविकतालाई बुझ्न नखोजेर नक्साको राजनीति र अफवाह फैलाउन उद्यत सबैलाई तथ्यको आधारमा सत्यको नजिक पुग्नसमेत आग्रह गर्दछु ।’

लिम्पियाधुरासहितको नेपालको नक्सा प्रकाशन गर्ने निर्णय, निशान छापमा प्रकाशित नयाँ नक्साको औपचारिक प्रयोगका लागि संसदको सर्वसम्मतिमा संविधान संशोधन नै गरिएको बताउँदै तदनुरूप अगाडि बढ्ने ऐतिहासिक कदम प्रधानमन्त्रीकै दृढ र साहसिक नेतृत्वमा चालिएको धेरै समय नभएको थापाको जिकिर छ ।

अहिले यस विषयलाई योजनबद्द रूपमा भ्रम सिर्जना गर्न खोजिएको थापाको दाबी छ ।  https://facebook.com/permalink.php?story_fbid=203245217848757&id=105043977668882