पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले फोन गरेर आफूलाई स्वास्थ्यलाभको शुभकामना दिएको बताएका छन् ।
बुधवार साँझ सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै डा. भट्टराईले आफ्नो स्वास्थ्यलाभको कामना गरेकोमा प्रधानमन्त्री ओलीलाई धन्यवाद दिएका छन् ।
उनले प्रधानमन्त्री ओलीलाई धन्यवाद दिँदै नेकपाभित्रको लडाईं अग्रगामी र पश्चगामीबीचको भएको टिप्पणी गरे ।
'हामीलाई फोन गरेर स्वस्थ्यलाभको कामना गरेकोमा प्रम ओलीलाई धन्यवाद दिँदै यो तीतो सत्य भन्नैपर्छ,' उनले लेखेका छन्, 'नेकपाभित्रको किचलो रूपमा दुइ अध्यक्षवीचको सत्तासंघर्ष देखिए पनि सारमा त्यो गहीरो वैचारिक-राजनीतिक अन्तरविरोधको अभिव्यक्ति नै हो।यो अन्तर्यमा अग्रगमन र पश्चगमन वीचको लडाइॅ हो !'
उनले ओलीलाई पश्चगामी सोच राख्ने चतुर खेलाडी भएको भन्दै कडा राजनीतिक प्रहारसमेत गरे ।
'ओली नेपाली राजनीतिका पश्चगामी सोच राख्ने चतुर खेलाडी हुन् । संविधानसभामा अग्रगामी एजेण्डा निस्तेज पार्न माओवादी-मधेसवादी विरूद्ध नेकासँग सहकार्य गरे । पछि सत्तानिम्ति चुनावमा नेकाविरूद्ध माओवादीसँग एकता गरे । अहिले ओली नेतृत्वमा देश तीव्र गतिले प्रतिगमनतिर दौडिरहेछ !अब के ? सबैले सोचौं !' उनले लेखेका छन् ।
डाक्टर भट्टराई र उनकी श्रीमती हिसिला यमी यतिबेला कोरोना संक्रमित भएर आइसोलेसनमा रहेका छन् ।
https://twitter.com/brb1954/status/1323965021097848832?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1323965021097848832%7Ctwgr%5Eshare_3&ref_url=https%3A%2F%2Flokaantar.com%2Fstory%2F123204%2F2020%2F11%2F4%2Fbaburam-bhattaraimodal










