नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी स्वकीय सचिव गंगा दाहालले पार्टी फूटलाई प्रश्रय दिने गरी आएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश तत्काल फिर्ता हुनुपर्ने बताएकी छन् । संसद्लाई बन्धक बनाएर अध्यादेश ल्याइनु आपत्तिजनक भएको उनको भनाइ छ ।
मंगलवार राष्ट्रपति विद्यादेवी भण्डारीबाट अध्यादेश जारी भएपछि सामाजिक सञ्जाल ट्विटरमा सन्देश लेख्दै दाहालले अध्यादेशले लोकतान्त्रिक विधि र पद्धतिलाई समेत चुनौती दिएका कारण जस्ताको त्यस्तै फिर्ता हुनुपर्ने बताएकी हुन् ।
‘पार्टी फूटलाई प्रश्रय दिँदै, संसद्लाई समेत बन्धक बनाई अध्यादेश ल्याइनु आपत्तिजनक छ, संविधानलाई लत्याएर ल्याइएको यो अध्यादेशले लोकतान्त्रिक विधि र पद्धतिलाई समेत चुनौती दिएका कारण जस्ताको तस्तै फिर्ता हुनुपर्दछ,’ दाहालले ट्विटरमा लेखेकी छन् ।
मंगलवारका लागि बोलाइएको बैठक सभामुखले बहिस्कार गरेपछि परिषद्को बैठकमा कोरम पुर्याउन सरकारले राष्ट्रपतिसमक्ष अध्यादेश सिफारिश गरेको थियो ।










