काठमाडौ । गृहमन्त्री समेत रहेका नेकपा नेता रामबहादुर थापा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाको पक्षमा लागेका छन्। आज बिहीबार अपरान्ह बालुवाटारमा सुरु भएको ओली पक्षको केन्द्रीय समिति बैठकमा उनी सहभागी भएका छन्।
नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसंग पदका विषयमा कुरा नमिलेपछि उनले ओलीको साथ नछोड्ने भएका हुन् । ओलीले बादललाई गृहमन्त्री पनि रहने र पार्टीमा जिम्मेवारी दिने आश्वासन दिएका कारण उनी ओलीतिरै लागेका छन् ।
बुधबारसम्म पनि गृहमन्त्रीबाट राजीनामा नगरी प्रचण्ड र ओलीसँग भेट गरेका थापाले साँझ भने ओलीतिरै लाग्ने संकेत दिएका थिए । बुधवार थापाले बालुवाटारमा एक घण्टा लामो छलफल ओलीसंग गरेका बादल विहिवार पनि करिब २ घण्टा ओलीसंगै छलफलमा थिए ।
ओलीले उपाध्यक्ष बनाउने अफर गरेकाले थापाले प्रचण्डको साथ छोडेको एक नेताले बताएका छन् । प्रचण्ड निकट एक नेताका अनुसार थापाले वरिष्ठ नेता झलनाथ खनालपछिको मर्यादा क्रममा रहने गरी वरिष्ठ उपाध्यक्ष बनाउन गरेको आग्रह प्रचण्डले नमाने पछि उनी ओलीतिर लागेका हुन् । त्यो पद नारायणकाजी श्रेष्ठभन्दा माथिको हुने भएकाले प्रचण्ड सहमत हुन नसकेका हुन् ।
पहिलो त ओलीले थापालाई गृहमन्त्रीमा निरन्तरता दिने र पार्टीमा आफुपछिको मर्यादामा रहने गरी उपाध्यक्ष बनाउने बलियो आश्वासन दिएका छन्। दोस्रो, निर्वाचन आयोगले सूर्य चुनाव चिन्ह आफ्नै पार्टीलाई दिने र सर्वोच्च अदालतले संसद पुनस्थापना पनि नगर्ने कुरामा ओलीले थापालाई विश्वस्त तुल्याउन खोजेका छन्।










