काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले कर्मचारीहरुलाई सही र सत्य सूचना मात्र दिन आग्रह गरेका छन् । मंगलबार मन्त्रालयमा नेपाल पर्यटन बोर्ड र पर्यटन विभागका कर्मचारीहरुबाट ब्रिफिङ लिन आयोजित कार्यक्रममा बोल्दै मन्त्री ढकालले नयाँ मन्त्रीलाई केही थाहा छैन र हामीले भनेको मान्छ भन्ने आधारमा सही कुरालाई बेठिक ढंगले सल्लाह नदिन आग्रह गरेका हुन् । ठिकलाई ठिक र बेठिकलाई बेठिक भन्न नडराउन समेत आग्रह गरे ।

यस्तै मन्त्रीले गर्ने काम र निर्णयहरु कर्मचारीले दिने सुझावमा भर पर्ने भएकाले पनि राम्रो नतिजा निकाल्नका लागि ठिक सुझाव मात्रै दिन आग्रह गरेका हुन् । मन्त्री ढकालले यसअघि भएका सबै राम्रा कामलाई निरन्तरता दिने समेत बताए । तर समय परिस्थितिअनुसार बदलिएका विषयलाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा आफ्नो ध्यान केन्द्रीत हुने पनि मन्त्री ढकालले बताए । यस्तै व्यक्तिगत हितको लागि भन्दा पनि संस्थाको सर्वोपरि हितलाई ध्यानमा राखेर काम गर्न समेत आग्रह गरे ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

परिवर्तिन राजनीतिक घटनाक्रमका कारण प्रतिनिधि सभा नभएको अवस्थामा नयाँ कानून निर्माण गर्न नसकिने भएकाले कानूनी सुधार भन्दा पनि अन्य विषयमा केन्द्रीत भएर काम गर्न पनि मन्त्री ढकालले आग्रह गरे । केही गठन आदेशबाट हुन सक्ने काम गर्न सकिने तर ऐन नियम निर्माण गर्न प्रतिनिधि सभा नभएको अवस्थामा कानून निर्माणका आधार मात्रै तयार गर्न सकिने पनि बताए । कार्यक्रममा पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङ र नेपाल पर्यटन बोर्डका प्रमख कार्यकारी अधिकृत डा. धनन्जय रेग्मीले नेपालको पर्यटन क्षेत्रमा हालसम्म लागू भएका कार्यक्रम र आगामी रणनीतिको बारेमा ब्रिफिङ गरेका थिए ।