काठमाडौं, २३ पुस । देशभर जाडो बढ्दो छ । चिसो बढेपछि सर्वसाधरणको दैनिकी प्रभावित हुन थालेको छ । वायु प्रदुषणका कारण डम्म बादल देखिएको नेपालको आकाश विस्तारै खुलेको छ । आकाशमा देखिएको धूलोको कणको मात्रामा कर्मी आएपछि आकाश खुलेको हो । आकाश खुलेपछि बढी चिसो महसुस हुन थालेको छ ।

सोमबार र मंगलबार बादल लागेका बेला काठमाडौंको न्यूनतम तापक्रम ९ डिग्री सेल्सियस रहेकोमा हिजोदेखि फेरि तापक्रम घट्न थालेको मौसमविदले जानकारी दिएका छन् । हिजो (बुधबार) काठमाडौंको न्यूनतम तापक्रम ६.१ डिग्री सेल्सियस मापन भएको थियो । आज (बिहीबार) बिहानको न्यूनतम तापक्रम ५.५ डिग्री सेल्सियस मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

आकाश खुलेकाले न्यूनतम तापक्रम घट्दै र चिसो बढ्दै जाने मौसमविद्ले जानकारी दिएका छन् । हिजोदेखि मौसम खुलेकाले न्यूनतम तापक्रम हिजोभन्दा आज घट्न सक्ने मौसमविद् शान्ति कँडेलले बताएकी छिन् ।

आजदेखि अबको एक–दुई दिन न्यूनतम तापक्रम घट्दै जाने सम्भावना रहेको कँडेलले बताएकी छिन् । काठमाडौं उपत्यका बाहिर पनि चिसो बढ्ने मौसमविद्को भनाइ छ । अघिल्लो हप्तासम्म माइनसबाट ओरालो लागेको उच्च पहाडी तथा हिमाली क्षेत्रको तामपक्रम अस्ति बादल लागेपछि बढेको थियो । तर आकाश खुलेपछि फेरि तापक्रम घट्न थालेको छ ।

हिजो दिपायलको न्यूनतम तापक्रम ९ दशमलव ९ डिग्री सेल्सियस, डडेल्धुराको ७ दशमलव १ डिग्री सेल्सियस, जुम्लाको शून्य दशमलव ५, पोखराको ८ दशमलव २, ताप्लेजुङको ८ दशमलव ७, धनकुटाको १० दशमलव ८, जिरीको २ दशमलव ४ डिग्री सेल्सियस र जोमसोमको शून्य दशमलव ७ डिग्री सेल्सियस मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आजदेखि यी ठाउँहरुमा पनि निरन्तर तापक्रम घट्दै जाने मौसमविद् कँडेलले बताइन् । यसैबीच आज पनि कर्णाली र सुदूरपश्चिम प्रदेशमा राम्रोसँग आकाश खुल्ने सम्भावना छैन । यी प्रदेशमा आज राति हल्का हिमपातको सम्भावना छ । तराईमा बिहान कुहिरो लागे पनि दिउँसो घाम लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । अरु ठाउँको मौसम भने सामान्यतया सफा नै रहने मौसमविद् कँडेलले जानकारी दिएकी छिन् ।