सडक सुरक्षामा झापा ट्राफिक प्रहरीले सक्रियता देखाएको छ। पूर्व-पश्चिम राजमार्ग र जिल्लाको अन्य भित्री स्थानमा रहेका सडकहरूमा सञ्चालन हुने सवारी साधनहरूको नियमन गर्न ट्राफिक प्रहरी चौबिसै घन्टा सडकमा आएको हो।

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जिल्ला प्रहरी कार्यालय झापाको सहयोगमा ट्राफिक नियम तथा सवारी सम्बन्धी सचेतनामुलक कार्यक्रमअघि सारेको छ। केही दिनयता झापामा सवारी दुर्घटना बढेको र त्यसका कारण सर्वसाधरण मानिस अंगभंग भई कतिपयको ज्यान समेत गएकोले सवारी साधन चेकिङमा तीव्रता दिइएको ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सडकमा दुर्घटना न्यूनीकरण गर्न वैज्ञानिक रुपमा प्रहरी अघि बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख समेत रहेका प्रहरी निरीक्षक प्रकाश जवेगुले बताए। उनले भने, ‘अघि पनि ट्राफिक प्रहरी यसरी नै सडक सुरक्षाका लागि राजमार्गमा आएको थियो। अब भने वैज्ञानिक रुपमा सडकमा हुने दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरी सडकमा आउने भएको हो।’

जिल्लाभित्र र बाहिर जाने यातायातका धनी, चालक तथा सहचालकहरूलाई सचेतना, साइकल तथा ट्याक्टरमा परैबाट देखिने गरिको रिफ्लेक्सन स्टिकर टाँस्ने, सवारी दुर्घटना गराउने दोषीलाई कारबाहीका लागि समन्वय गर्ने जस्ता कार्यक्रम लिएर ट्राफिक  प्रहरी सडकमा निस्कने ट्राफिक प्रहरी निरीक्षक जवेगुले बताए।

बाक्लो हुस्सु, मादक पदार्थ सेवन, साँझमा विपरीत दिशाका दुई यातायातका साधनका चालकबीच बत्तीको समन्वयकारी भूमिका नहुँदा अध्यधिक दुर्घटना बढेको कार्यालयका ट्राफिक प्रहरी नायब निरीक्षक शिवकुमार शर्माले बताए। पछिल्ला दिनमा तीन पाङग्रे सवारी साधन र राजमार्गमा चल्ने बसको लापरबाहीका कारण पनि राजमार्गमा दुर्घटना बढेको प्रहरीको ठम्याइ छ।

ट्राफिक प्रहरीले यातायात मजदुरलाई रुट परमिट लिएर मात्र सवारी साधन चलाउन, कागजपत्र दुरुस्त राख्न, निर्धारित भाडादर भन्दा बढी भाडा नलिन, सवारी साधन चलाउँदा मादक पदार्थ तथा लागुपदार्थ सेवन नगर्न र क्षमता भन्दा बढी यात्रु नबोक्न यातायात मजदुरलाई सुझाव दिँदै आएको छ।

झापामा पुसमा मात्र ९७ वटा सवारी दुर्घटनामा परेका थिए। दुर्घटनामा परेर १७ जनाको मृत्यु भयो। यो अन्य महिनाको भन्दा धेरै हो। जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका अनुसार दुर्घटनामा परेर ४५ जना गम्भीर प्रकृतिको अंगभंग भए भने ७८ जना घाइते भए।

एक महिनामा यतिको संख्यामा सवारी दुर्घटना हुँदा प्रहरीले एउटै कारण ठानेको छ- मादक पदार्थ सेवन गरी सवारी चलाएको।