काठमाडौं । प्रतिनिधिसभा विघटनविरूद्ध पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले काठमाडौंमा आज बृहत विरोध आमसभाको आयोजना गर्दैछ ।

अध्यक्ष प्रचण्डले उनी निकट प्रेस संगठनको कार्यक्रममा जानकारी गराए अनुसार आजको बृहत आमसभामा २ लाख प्रदर्शनकारीले सहभागिता जनाउँदै छन ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

काठमाडौं उपत्यकाका मुलुकका विभिन्न जिल्लाबाट प्रदर्शनकारी ल्याएर भृकुटीमण्डपमा बृहत प्रदर्शन गर्ने योजना बनाएको प्रचण्ड समुहले झन्डै एक हप्तादेखि तयारी गरेको थियो । प्रचण्डनिकट नेकपाको केन्द्रीय संघर्ष समितिका सह–संयोजक तथा प्रवक्ता योगेश भट्टराईले शुक्रबारका लागि तय भएको बृहत विरोधसभाको तयारी बिहीवार नै सम्पन्‍न गरिएको थियो ।

बिरोधसभामा अध्यक्षद्वय प्रचण्ड र माधवकुमार नेपाललगायत नेताले बोल्ने कार्यक्रम रहेको छ । सचिवालय र स्थायी कमिटी सदस्यको नेतृत्वमा माइतीघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपन्डोल, प्रदर्शनी मार्ग, त्रि–चन्द्र कलेज, बाल्मीकि क्याम्पसलगायतका स्थानबाट निस्किएर रत्‍नपार्कको मुख्य जुलुसमा सहभागी हुनेछ ।

रत्‍नपार्कबाट सुरू हुने मुख्य जुलुसलाई अध्यक्षद्वय प्रचण्ड र नेपालले नेतृत्व गरी पुतलीसडक हुँदै भृकुटीमण्डपमा आयोजना हुने विरोधसभामा परिणत गराउने योजना रहेको सह संयोजक भट्टराईले जानकारी दिए ।

प्रतिनिधिसभा विघटनपछि राजनीतिक रुपमा विभाजित भएका प्रचण्ड नेतृत्वको नेकपाले दोस्रोपटक काठमाडौंमा बृहत प्रदर्शन गर्न लागेको हो ।