बुटवलमा तीव्र गतिमा गुड्ने टिपरका कारण सडक दुर्घटना ह्वात्तै बढेको छ । यस्ता दुर्घटना कम गर्न ट्राफिक प्रहरीले टाईमकार्ड संगै लेन अनुशासनमा समेत कडाइ गर्न थालेको छ ।टिप्पर तिव्र गतिमा गुड्दा लुम्बिनी प्रदेशमा सवारी दुर्घटना बढ्दै गएपछि ट्राफिक प्रहरीले टाईमकार्डमा कडाई गरेको हो ।टाईमकार्ड लागु भएपछि टिप्परलाई पाल्पाको दोभानदेखि बुटवलको धागोकारखाना (रामनगर)सम्म प्रतिघण्टा २० को गतिमा सवारी सञ्चालन गर्न ट्राफिक कार्यालयले निर्देशन दिएको छ । त्यस्तै धागोकारखाना देखि नवलपरासी (पश्चिम)को सुनवल र बुटवलदेखि भैरहवासम्म प्रतिघण्टा ३० को गतिमा सञ्चालन गर्नुपर्ने छ ।
यी सडकमा सञ्चालन रहेका टिप्परले तोकिएको स्थानमा अनिवार्य रुपमा टाईम कार्ड देखाउने तथा ईन्ट्री गराउनु पर्नेछ । चेकप्वाईन्टमा ईन्ट्री नगराई भागेमा वा तोकिएको समयभन्दा चाँडो आउने जाने गरेमा जरिवाना गरिने लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक डम्बरबहादुर बिकले बताउनुभयो ।कोरोना भाईरस महामारीका कारण बन्द भएका सवारी साधन सञ्चालनको चाप पुरानै अवस्थामा फर्किसकेको र तीव्र गतिमा सवारी सञ्चालन गर्ने, सवारी सञ्चालन गर्दा लापरवाही गर्ने गरेको गुनासो आएपछि सम्भावित दुर्घटना न्यूनिकरणको लागि टिप्परलाई टाईमकार्ड लागु गर्नुको साथै लेन अनुशासन कार्यान्वयनलाई प्रहरीले कडाई गरेको हो ।लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले लुम्बिनी प्रदेशमा अंघिल्लो आर्थिक वर्षको पहिलो ६ महिनामा भन्दा चालु आर्थिक वर्षको पहिलो ६ महिनामा दुर्घटना संख्या झण्डै १३ प्रतिशतले वृद्धि भएको छ ।
अघिल्लो आर्थिक वर्षको साउनदेखि पुस महिनासम्म लुम्बिनी प्रदेशका १२ जिल्लामा ५ सय ६६ वटा दुर्घटना भएको थियो भने चालु आर्थिक वर्षको साउन देखि पुस महिनासम्म ६ सय ३७ वटा दुर्घटना भई सकेका छन् ।कोरोना भाईरस महामारीका कारण न्यून संख्यामा सवारी साधन सञ्चालन भएपनि दुर्घटना भने चालु आर्थिक वर्षको पहिलो ६ महिनामा बढेको देखिन्छ । सवारी दुर्घटनामा परि अघिल्लो आर्थिक वर्षको पहिलो ६ महिनामा २ सय ७६ जनाले ज्यान गुमाएका थिए भने चालु आर्थिक वर्षको पहिलो ६ महिनामा २ सय ५६ जनाले ज्यान गुमाई सकेका छन् ।ट्राफिक प्रहरी कार्यालयले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा नै १ लाख ३४ हजार ७ सय २० सवारीलाई कारवाही गरीसकेको छ । पछिल्लो समय भएका सबै दुर्घटना तीव्र गतिको टिप्परको कारण भएको भन्दै ट्राफिक प्रहरीले यसमा नियन्त्रण गरेको हो ।त्यसैले सबैले आ–आफ्नो ठाउँबाट सहयोग पुर्याउन सके सवारी दुर्घटना न्यूनिकरण गर्नको लागि सहयोग पुग्ने ट्राफिक प्रहरीको अपेक्षा छ ।










