देशको सत्ता चलाइरहेको दल नेकपा कानुनी रुपमा एउटै भए पनि व्यवहारिक रुपमा दुइटा छन्। टेलिभिजनको एउटा लोकप्रिय कार्यक्रम ‘सीधा कुरा जनतासँग’पनि अब दुइटा भएको छ। रवि लामिछानेले बिहीबार (जनवरी २१ मा) टिमसहित न्युज २४ टेलिभिजन छाडेपछि सो टेलिभिजनले आइतबार (जनवरी २४ मा) पहिलो पटक रवि लामिछाने बिनाको कार्यक्रम प्रसारण गर्यो।रवि लामिछानेले परिष्कृत सोच र स्वरुपमा फेरि आउँछौँ भनेर सीधा कुरा जनतासँगको पुरानै लोगोसहित सूचना र नयाँ फोन नम्बर सार्वजनिक गर्दैगर्दा न्युज २४ टेलिभिजनले पनि ‘उही विश्वास उही रफ्तार’ भन्दै सोही लोगोसहितको कार्यक्रमको प्रचार गर्यो। नेकपाका दुवै समूहले आफू आधिकारिक भने झैँ यो सीधा कुरा चाहिँ कसको आधिकारिक हुने त? खोज्दै जाँदा यस्तो भेटियो।
न्युज २४ टेलिभिजनले ‘उही विश्वास, उही रफ्तार’ र अझ बढी जिम्मेवारीका साथ निरन्तर भन्दै गरेको प्रचार।न्युज २४ टिभी र रवि लामिछानेको कुरा कहाँ नमिलेको भित्री कुरा थाहा भएन। तर यसो हेर्दा बुझिने कुरा उनी ‘सीधा कुरा जनतासँग’लाई केही समय ब्रेक दिन चाहन्थे र परिस्कृत सोच र स्वरुपमा ल्याउन चाहन्थे। उनले आफ्नै नयाँ टेलिभिजन चलाउन लागेको कुरा पनि छ।न्युज २४ टिभीले भने आफ्नो टेलिभिजनको सबैभन्दा लोकप्रिय कार्यक्रम गुमाउन नचाहेको जस्तो देखियो। त्यसैले उसले निरन्तरतामा जोड दियो, कार्यक्रम सञ्चालकले आफ्नो टेलिभिजन छाडे पनि।शायद् त्यसैले गएको बिहीबार रविलाई अन्तिम कार्यक्रम लाइभ गर्न दिइएन। रेकर्डेड कार्यक्रम प्रसारण हुँदा पनि सेन्सर गरियो। रविले आफ्नो सीधा कुराको अहिलेसम्मको यात्राको बारेमा तयार पारेको रिपोर्टलाई टेलिभिजनमा प्रसारण हुन दिएन। तर उनले त्यसलाई फेसबुकमार्फत् सार्वजनिक गरे।
‘सीधा कुरा’ रविको कि न्युज २४ को त?
नेकपा ओलीको कि प्रचण्ड-माधव नेपालको भने जस्तो अब प्रश्न आउँछ ‘सीधा कुरा’ रवि लामिछानेको कि न्युज २४ टिभीको त ?
यो विवाद पहिले पनि उठेको हो। सीधा कुरा खासमा ‘सीधा कुरा प्रधानमन्त्रीसँग’ भनेर नेपाल टेलिभिजनमा रवि लामिछानेले नै सुरु गरेको कार्यक्रम थियो। त्यतिबेला प्रधानमन्त्री केपी शर्मा ओली थिए।

रवि लामिछाने र प्रम केपी ओलीसहितको कार्यक्रम
ओली सरकार ढलेर प्रचण्ड प्रधानमन्त्री भएपछि त्यो कार्यक्रम रवि लामिछानेलाई चलाउन दिइएन। वासुदेव शर्मा ‘बबिन’ ले प्रचण्डसँग ‘सीधा कुरा प्रधानमन्त्रीसँग’ चलाए।

प्रचण्ड र बबिनसहितको कार्यक्रम
‘सीधा कुरा प्रधानमन्त्रीसँग’ चलाउन नपाएपछि रवि लामिछाने न्युज २४ टेलिभिजनमा गए र ‘सीधा कुरा जनतासँग’ चलाउन थाले। यहीँबाट हो उनको टर्निङ प्वाइन्ट सुरु भएको। उनले नेतासँग नै कार्यक्रम चलाइरहेको भए यति लोकप्रियता शायदै पाउँथे। उनले जनतासँग कार्यक्रम चलाए। जनताको चासो, गुनासोलाई प्राथमिकता दिए।
यस्तो थियो सन् २०१६ मा प्रसारण भएको सीधा कुरा जनतासँगको पहिलो भाग।त्यतिबेला रमाइलो हुन्थ्यो, उस्तै लोगो, उस्तै थिम म्युजिकमा दुई वटा कार्यक्रम दुई वटा टिभीमा आउँथे। नाम भने फरक थियो। एउटा प्रधानमन्त्रीसँग नेपाल टेलिभिजनमा अनि अर्को जनतासँग न्युज २४ टेलिभिजनमा।
ट्रेडमार्क दर्ता रविको कम्पनीको नाममा
अहिले पनि त्यस्तै अवस्था हो त ?खोज्दै जाँदा त्यस्तो अवस्था देखिएन।प्रधानमन्त्री र जनतासँगको नाममा विवाद हुँदा शायद् त्यो कार्यक्रमको ट्रेडमार्क दर्ता गरिएको थिएन। तर अहिले त्यस्तो अवस्था होइन।

औद्योगिक सम्पति बुलेटिनमा प्रकाशित सूचना अनुसार २०७४ साल जेठ १६ गते नै सीधा कुरा जनतासँग भनेर देवनागरीमा लेखिएको मार्क र लोगोसहितको ट्रेडमार्क रुचि एन्ड रिया प्रोडक्सन प्रा लि, काठमाडौँ नेपालको नाममा दर्ता भएको छ।रुचि र रिया रवि लामिछानेकी छोरीहरुको नाम हो।अर्थात् कानुनी रुपमा सीधा कुरा जनतासँगको अधिकार न्युज २४ टेलिभिजनसित हैन, रवि लामिछानेसित नै छ।
न्युज २४ लाई के होला ?
मनोज गजुरेलले भने जस्तै केही नहुन्जेल त केही पनि हुन्न। तर यदि कानुनी रुपमा समाधान खोजियो भने न्युज २४ लाई कारबाही हुनसक्छ। के छ त कानुनी व्यवस्था ?

पेटेण्ट डिजायन र ट्रेडमार्क ऐन, २०२२ को दफा १६ अनुसार कुनै व्यक्तिको नाममा दर्ता भएको ट्रेडमार्क अरु कसैले नक्कल गर्न वा आफ्नो नाममा नामसारी नगराई वा प्रयोगको निमित्त लिखित रुपमा अनुमति नलिई आफ्नो वा अरुको नामबाट प्रयोग गर्न गराउन हुँदैन।गर्यो भने के हुन्छ त ?

कानुनमा कसुरको मात्र हेरेर एक लाख रुपैयाँसम्म जरिवाना हुनसक्ने उल्लेख छ।

त्यतिमा हैन ट्रेडमार्कको दर्तावालाले वास्तविक रुपमा सहनु परेको नोक्सानीको उचित रकम सो उल्लङ्घन गर्ने व्यक्तिबाट दर्तावालालाई हर्जानाको रुपमा भराइदिनसक्ने पनि व्यवस्था छ।यो हिसाबले हेर्दा रवि लामिछानेको कानुनी आधार बलियो, न्युज २४ को कमजोर देखिन्छ। रविले चाहेमा न्युज २४ टेलिभिजन अप्ठेरोमा पर्न सक्ने देखिन्छ।










