काठमाडौं : देशव्यापी आम हड्ताल आह्वान गरेको नेकपा (प्रचण्ड-नेपाल) समूह यतिखेर सडकमा छ। हड्ताल के र कसका लागि भन्ने प्रश्न नागरिकले उठाइरहँदा सडकमा अचम्मका दृश्य देखिएका छन्‌।​बन्दकर्ताले ठाउँ-ठाउँमा सर्वसाधारणका सवारीसाधनमा तोडफोड र आगजनी गरेका छन्‌। तर, हड्ताल निरीक्षण गर्न र सहभागिता जनाउन भन्दै अध्यक्षद्वय पुष्पकमल दाहाल 'प्रचण्ड' र माधवकुमार नेपाल सवारीसाधन चढेरै सडकमा आए।बन्द आह्वान गरेका प्रचण्ड आफैँले बन्द अवज्ञा गरे। उनी बा १७ च ३० ७१ को ल्याण्ड क्रुजर गाडी चढी हाम हड्ताल गराउन ललितपुरको पुल्चोक पुगेका हुन्‌।गाडीबाट ओर्लिएर दाहाल पुल्चोकको बीच सडकमा केही समय पलेँटी कसेर बसे। त्यसपछि उठेर फेरि गाडी चढेर उनी जावलाखेलतर्फ लागे।त्यस्तै,अर्का नेता माधव नेपाल पनि स्कुटर चढेर बन्द सफल पार्न सडकमा निस्किए। उनी कोटेश्वरमा बन्द सफल पार्न भन्दै देखिएका थिए।नेताहरू निस्फिक्री सवारीसाधनमा चढी आवतजावत गरिरहँदा जनताले भने आफ्ना सवारीमा तोडफोड सहनुपरेको छ।

बन्द अवज्ञा गरेको भन्दै उपत्यका लगायत देशका विभिन्न क्षेत्रमा बन्दकर्ता दाहाल-नेपाल समूहले सर्वसाधारणको सवारीसाधनमा तोडफोड गरिरहेको छ।प्रचण्ड-नेपाल समूहले बिहानै काठमाडौंको सामाखुसीमा एउटा ट्याक्सी जलाइदियो। बन्द अवज्ञा गरेको भन्दै उनीहरूले ट्याक्सी जलाएका हुन्। महानगरीय प्रहरी परिसरका एसएसपी अशोक सिंहले प्रदर्शनकारीहरूले प्रदेश नम्बर ३–०१–००२ ज ५८८१ नम्बरको ट्याक्सी जलाएको बताए।बागबजारमा पनि बन्द अवज्ञा गरेको भन्दै सडकमा गुडिरहेको एक स्कुटरलाई बन्दकर्ताले तोडफोड गर्न खोजेका थिए। तत्काल हस्तक्षेप गरी प्रहरीले उक्त स्कुटरलाई क्षति हुनबाट भने जोगायो।यता, चितवनमा बन्दकर्ताले ४ वटा ट्रकमा तोडफोड गरेका छन्। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार काठमाडौंबाट नारायणगढतर्फ आउँदै गरेका २ र वीरगञ्जबाट पोखरातर्फ जाँदै गरेको एउटा ट्रकमा तोडफोड भएको हो।बन्दकर्ताले ना३ख ३९३, ना१क १४३५ र ना८ख ४४८० नम्बरको ट्रक तोडफोड गरेको प्रहरीले जनाएको छ। मोटरसाइकलमा आएका बन्दकर्ताले भरतपुर महानगरपालिका-१ भतेरीमा ट्रक तोडफोड गरेका हुन्‌।​

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यस्तै, टाँडीबाट नारायणगढतर्फ आउँदै गरेको ना ४ ख ८८५५ नम्बरको मालबाहक ट्रकलाई भरतपुर महानगरपालिका-१२ मिलनचोकमा तोडफोड गरेको प्रहरीले जनाएको छ।झापामा पनि एउटा गाडीमा तोडफोड भएको छ। बन्द अवज्ञा गर्दै सडकमा गाडी कुदाइरहेको भन्दै नेकपाका कार्यकर्ताले मे १ च १९४२ नम्बरको गाडी रोक्न खोजेका थिए। गाडी चालकले उल्टै कार्यकर्तालाई कुल्चिन खोजेपछि उनीहरूले सो गाडी तोडफोड गरेका हुन्। बिर्तामोडको पश्चिम बसपार्कमा भएको सो घटनामा नेकपाका विद्यार्थी नेता मदन भट्टराई घाइते भएका छन्।प्रहरीले कलंकी चोकबाट नेतृ अष्टलक्ष्मी शाक्य सहितका नेता कार्यकर्तालाई बिहानै नियन्त्रणमा लिएपछि यो समूहले विभिन्न स्थानबाट जुलुससहित प्रदर्शन थालेको थियो। चावहिल चोकबाट पनि प्रहरीले कृष्ण केसी लगायतका नेता कार्यकर्ताहरूलाई नियन्त्रणमा लियो। अहिलेसम्म प्रहरीले विभिन्न स्थानबाट बन्द आह्वानकर्ता दर्जनौंलाई नियन्त्रणमा लिएको छ।

आम हड्ताल सफल बनाउन प्रचण्ड माधव समूहले काठमाडौंका प्रमुख स्थानका लागि कमाण्डर नै तोकेका छन्‌। युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य कलंकी, बेदुराम भुसाल बल्खु, देव गुरुङ सातदोबाटो, लीलामणि पोखरेल कोटेश्वर, हरिबोल गजुरेल र वर्षमान पुन चावहिल, शक्ति बस्नेत महाराजगञ्ज, भीम रावल गोंगबु, रघुजी पन्त बालाजु, नारायणकाजी श्रेष्ठ र जनार्दन शर्मा रत्नपार्क र पम्फा भुसाललाई पुल्चोकका कमाण्डरको जिम्मेवारी दिइएको छ।उनीहरूकै नेतृत्वमा कार्यकर्ताहरू बन्द सफल बनाउन सडकमा निस्किएका हुन्।संवैधानिक आयोगहरूमा नियुक्तिको विरोध गर्दै नेकपा प्रचण्ड–माधव समूहले आम हड्तालको घोषणा गरेपछि देशभर जनजीवन प्रभावित भएको छ।