रुकुम पूर्वको सिस्ने गाउँपालिकाले छोरी बचत खाताको शुरुआत गरेको छ।गाउँपालिकाको वडा नं ३ पाँगांका ४ महिनाकी सिमा खड्को खाता खोलेर छोरी बचत खाताको थालनी गरेको हो।कृषि विकास बैंकमा खोलेको उनीको बचत खातामा गाउँपालिकाले ५ हजार जम्मा गरिदिएको छ।गाउँपालिकाले चालु आर्थिक वर्षको साउन १ गतेभन्दा पछाडि जन्मिएका सबै छोरीहरुको बचत खाता खोलिदिने भएको छ।सिस्नेले साउन पछाडि जन्मेका गाउँपालिका क्षेत्रभित्रका सबै छोरीहरुको बचत खाता खोलिदिने गाउँपालिका अध्यक्ष कुमारी बरालले जानकारी दिनुभयो । गाउँपालिकाले सबै छोरीको खातामा रु.५÷५ हजार रुपैयाँ जम्मा गरिदिनेछ।छोरी बचत खाताको लागि गाउँपालिकाले मापदण्ड पनि निर्धारण गरेको छ ।
महिलाले अनिवार्य ४ पटक गर्भ जाँच गराएको, स्वास्थ्य संस्थामै सुत्केरी भएको र जन्मेको ३५ दिनभित्र जन्मदर्ता गराएको हुनुपर्ने गाउँपालिकाका स्वास्थ्य संयोजक सुरेन्द्रप्रसाद यादवले जानकारी दिनुभयो ।सबै प्रक्रिया पूरा भएपछि वडाको सिफारिस लिएर गाउँपालिकामा पुगे गाउँपालिकाले नै छोरी बचत खाता खोलीदिने उहाँले भयो । उहाँका अनुसार यो खाता मुद्दती हुनेछ। छोरी २० वर्ष पुगेपछि मात्रै त्यो रकम निकाल्न पाइने छ । त्यसका लागि २० वर्ष नपुगी विवाह नगरेको र पढाइ निरन्तरता हुनुपर्ने छ ।२० वर्षपछि उक्त रकम छोरीले निकालेर आफैं चलाउन पाउने गरी गाउँपालिकाले कार्यविधि तयार पारेको छ ।स्वास्थ्य, सचेतना, जागरणका लागि छोरी बचत कार्यक्रम सुरु गरिएको गाउँपालिकाले जनाएको छ । आमा र बच्चाको स्वास्थ्य सुरक्षा र जनचेतना बढाउने उद्देश्यले सो अभियान थालेको गाउँपालिका अध्यक्ष बरालको भनाई छ।छोरी बचत कार्यक्रमबाट छोरीको सुरक्षालाई प्राथमिकतामा राखिएको गाउँपालिकाले जनाएको छ ।










