२३ फागुन, विराटनगर । मोरङको उर्लाबारी नगरपालिका–५ का ३१ वर्षीय प्रवीण बास्तोलाको शंकास्पद मृत्यु प्रकरणसँग जोडिएका दुईजना फरार प्रतिवादी पक्राउ परेका छन् ।घटनाका मुख्य अभियुक्त झापाको दमक नगरपालिका–१० का ३३ वर्षीय राजेश रणपहेली र दीपेश पौडेल पक्राउ परेका हुन् । प्रहरीले रणपहेलीलाई बुटवलबाट पक्राउ गरेको हो । झापा बैगुनधुराका ३१ वर्षीय दीपेश पौडेल भने झापाबाट पक्राउ परेका हुन् । दुई साताअघि पक्राउ परेका पौडेलविरुद्ध झापामा मोटरसाइकल चोरीको मुद्दामा अनुसन्धान जारी छ ।
उर्लाबारी–६ स्थित गिरीको घरमा डेरा बस्ने साथीहरुको कोठामा अघिल्लो रात सुत्न गएका बास्तोलाको गत पुस ५ गते शंकास्पद मृत्यु भएको थियो । परिवारका सदस्यले हत्या भएको दाबी गर्दै छ जनाविरुद्ध किटानी जाहेरी दिएका थिए ।दर्जी, परियार र पौडेल, गिरीको घरमा डेरा गरी बस्थे । आफूसँगै पढेका साथी बास्तोलालाई लिएर रणपहेली पुस ४ मा पाहुना गएको प्रहरीको भनाइ छ । कोठामा पुग्नुअघि खानपिन गर्ने क्रममा शौरभ होटलका सञ्चालक कुमार राईसँग विवाद भएको थियो । एउटै कोठामा सुतेकामध्ये बास्तोलाको भने शंकास्पद मृत्यु भएको अवस्थामा शव भेटिएको थियो ।
आफन्तले प्रहरीले अनुसन्धान प्रभावकारी नगरेको भन्दै एकसाता अघि प्रदर्शन गरेका थिए । प्रदर्शन पछि सरकारी वकिलको कार्यालयले मुद्दा दायर गरेको थियो । प्रहरीले डिएसपी मानबहादुर राईको नेतृत्वमा छानविन समिति गठन गरेको थियो ।अनुसन्धानपछि विवादमा तानिएका इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरिक्षक उद्धप पोखरेल जिल्ला तानिएका छन् । उनको स्थानमा कुन्दन देवलाई पठाइएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी मानबहादुर राईले जानकारी दिए ।










