काठमाडौं। भारत सरकारको अनुदानमा नेपालको राजधानी काडमाडौंस्थित बुढानिलकण्ठ मन्दिरमा धर्मशालाको पुननिर्माण कार्य शुरु गरिएको छ ।भारतले नेपालका २८ वटा सांस्कृतिक धरोहरहरु पुननिर्माणका लागि प्रदान गरेको अनुदान अन्तर्गत बुढानिलकण्ठ मन्दिरमा धर्मशाला पुननिर्माण कार्य सुरु भएको हो । नेपालस्थित भारतीय दूतावासका उप प्रमुख नाम्ग्या सी खाम्पा र नेपालको राष्ट्रिय पुननिर्माण प्राधिकरणका कार्यकारी अधिकारी सुशिल ज्ञावलीले संयुक्त रुपमा ढुंगा राखेर धर्मशाला पुननिर्माण कार्यको सुभारम्भ गरे ।
भारत र नेपालबीच धार्मिक, सास्कृतिक, सामाजिक सम्बन्ध र समानता वर्षौदेखि कायम भएको र नेपालका यी क्षेत्रमा भारतले सहयोग गर्न पाउनु सौभाग्य र जिम्मेवारी दुबै रहेको खाम्पाले बताइन् । नेपाल सरकारले पुननिर्माणका लागि छुट्टाएका २८ वटा सांस्कृतिक धरोहरहरुको पुननिर्माणका लागि भारत सरकारले अनुदान सहयोग गर्ने सन् २०१७ मा सहमति गरेको थियो ।सन् २०१९ को नोभेम्बरमा पनि भारत सरकारको सहयोगमा बुढानिलकण्ठ मन्दिरमा मथाढिस भवन २ करोड २० लाख नेपाली लागतमा निर्माण गरिएको थियो ।










