एकदमै कम त्यस्ता विषय, जो सबै उमेर वर्गका मानिसले रुचि राख्ने गर्छन् । मेलम्चीको पानी काठमाडौं बासीका लागि त्यस्तैमध्ये एक पर्छ । केही महिनाअघिसम्म जो कोहीले पनि मेलम्ची आउँदै छ भन्दा गफै त हो भनेर उडाउने गर्थे । मेलम्चीको पानी काठमाडौंको सुन्दरीजलसम्म आएपछि भने तिनै मानिसहरू धारामा पानी आउने दिन गन्दै बसेका छन् । मेलम्चीले पानीले काकाकुल जीवन भोगिरहेका काठमाडौंवासीमात्रै होइन सिंगो देशलाई हर्षित बनाएको छ । बहुप्रतीक्षित मेलम्चीको पानी २२ वर्षपछि गत फागुन २२ गते काठमाडौं आइपुगेको थियो । काठमाडौं पुगेको २४ दिनपछि अर्थात् चैत १५ गतेदेखि मेलम्चीको पानी परीक्षणका रूपमा हरेकका धारा–धारामा पुग्दै छ भनेर सरकारले चर्चा बटुलिरहेको छ ।

बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको निर्माण सम्पन्न भएसँगै उपत्यकावासीले अब घर–घरमा पानी पाउने सरकारको दाबी छ । सरकारी दाबी एकातिर तर वास्तविकता एकातिर रहेको छ । दुई दशकपछि सिन्धुपाल्चोकस्थित मेलम्चीको पानी काठमाडौंको सुन्दरी जलमा आइपुगे पनि घरघरमा वितरण भने सहज नभएको पाइएको छ । चैत १५ गतेदेखि मेलम्चीको पानी काठमाडौंका धारामा छाड्ने बताइए पनि अहिले पनि आवश्यक संरचना भने तयार नभइसकेको पाइएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

काठमाडौंका विभिन्न ठाउँमा मेलम्चीको पानी वितरणका लागि पाइपलाइन बिछ्याइए पनि त्यसको परीक्षण भएको छैन । पानी वितरणका लागि नभइ नहुने अत्याधुनिक कम्प्युटराइज प्रणाली सुपरभाइजरी कन्ट्रोल एन्ड डाटा एक्विजिसन प्रणालीको काम सुरुसमेत नभएको पाइएको छ ।मेलम्ची खानेपानी वितरणका लागि अन्तिम परीक्षण बाँकी नै छ । तर, यता मेलम्ची उपआयोजना २ का प्रवक्ता उज्ज्वल प्रजापतिका अनुसार भने हालसम्म ८० हजार धाराका पोइन्टहरू जडान गरिएको छ भने १५ हजार नयाँ मिटर जडान भइसकेको छ ।प्रवक्ता प्रजापतिका अनुसार कुल १ लाख १० हजार धारा जोड्ने लक्ष्य रहेको थियो । यस अनुसार पनि अझै ३० हजार धारा जडान गर्ने काम बाँकी रहेको स्पष्ट देखिएको छ ।

मेलम्ची खानेपानी आयोजनाले चैतको दोस्रो सातादेखि परीक्षणका रूपमा पानी छाड्ने तयारी भइरहेको जनाएको छ । आयोजना कार्यान्वयन निर्देशनालयका अनुसार पहिलो चरणका लागि कुल १ हजार १३२ किमि पाइपलाइन बिछ्याउनुपर्नेमा करिब १५ किमि पाइपलाइन बिछ्याउने काम बाँकी रहेको छ ।काठमाडौं तथा ललितपुरका कतिपय ठाउँमा अहिले पनि पाइप बिछ्याउने काम भइरहेको छ । ६–७ वर्षदेखि पाइप बिछ्याएको तर पानी अभावले पुरेर राखिएका पाइपको अवस्थासमेत बुझ्न नसकिएको बताइएको छ । पानी हालेपछि मात्र त्यस्तो पाइपको अवस्था थाहा पाउन सकिने जनाइएको छ । यो विवरणलाई नै नियाल्दा पनि हरेक धारामा पानी आउने कुरा कत्तिको सम्भव छ त ? त्यसमा भने प्रश्न उब्जिएको छ ।

आयोजनाले भने अहिले काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले वितरण गरिरहेको पुरानै पाइलाइनबाट वितरण गर्ने र बिस्तारै नयाँ परीक्षण गर्दै जाने तयारी गरेको जनाइएको छ । मेलम्चीको पानी परीक्षणका लागि गत १० फागुनमा सुरुङमा खसालिएकोमा २२ फागुनमा काठमाडौंको सुन्दरीजल आइपुगेको हो । यतिबेला पानी फोहोर भएकाले बागमतीमा हालिएको छ । सुन्दरीजलमा रहेका दुई वटा पानी प्रशोधन केन्द्रमा पानी खसालेर वितरण प्रणालीमा जोडिनेछ ।गत असारमै सुरुङमा पानी परीक्षण सुरु गरिएको थियो । त्यसक्रममा हेलम्बू गाउँपालिका–१ स्थित अम्बाथानको अडिटको मुख्य गेट नम्बर १७ फुटेर निस्केको पानीले आयोजनाका एक इन्जिनियर र चालकलाई बगाएपछि परीक्षण कार्य नै रोकिएको थियो । फुटेको गेट नम्बर १७ लगायत अन्य संरचनाको पुनः जाँच गरी अहिले पानी सुरुङबाट पठाइएको हो ।

हाल परीक्षणका लागि २६० लिटर प्रतिसेकेन्ड पानी सुरुङमा हालिएको छ । परीक्षण सकिएपछि प्रतिदिन १७ करोड लिटर पानी सुरुङमार्गबाट सुन्दरीजल आइपुग्ने खानेपानी मन्त्रालयका प्रवक्ता रमेश न्यौपानेले जनाएका छन् । उनका अनुसार, दैनिक बिना रोकावट हरेक उपभोक्ताको घरको धारामा पानी आइरहने निश्चित रहेको छ ।चैत १५ देखि २७ गतेसम्म दैनिक ८ करोड लिटर पानी वितरण हुनेछ’, प्रवक्ता न्यौपाने भन्छन्, ‘चैत २७ पछि भने दैनिक १७ करोड लिटर पानी काठमाडौंमा वितरण हुनेछ ।’ मेलम्चीको पानीका लागि अहिले मूल्य भने नतोकिएको उनको भनाइ छ । यद्यपि मिटर जडान शुल्क भने २५ सय रुपैयाँ हाराहारीमा रहने उनले बताएका छन् ।

पूर्व प्रधानमन्त्रीसमेत रहेका कांग्रेस नेता स्व. कृष्णप्रसाद भट्टराईले २०५१ सालको मध्यावधि चुनावमा काठमाडौंको सडक मेलम्चीको पानीले पखालिदिने वाचा गरेका थिए । मेलम्ची आयोजनाको सुरु भने २०५८/५९ मा भएको थियो । आयोजना सुरु गर्दा २०६४/६५ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । त्यसयता बनेका हरेक प्रधानमन्त्री र मन्त्रीले मेलम्चीको पानी यसै वर्ष काठमाडौं आउने दाबी गर्दै आएका थिए ।विसं २०५८/५९ देखि आयोजना निर्माण थालिए पनि निरन्तर ढिलाइ र भ्रष्टाचार गर्दै काठमाडौं उपत्यकाका नागरिकलाई आशाको अंकुशमा उनिरहेको राज्यसंयन्त्रले बल्लतल्ल, झन्डै दुई दशकपछि काठमाडौंमा पानी झार्न लागेको हो ।

विसं २०५६ मा मेलम्ची खानेपानी विकास समितिको गठन भएको थियो । आयोजना निर्माणका लागि एसियाली विकास बैंकले सन् २००१ मा सम्झौता समेत भएको थियो । पछिल्लो पटक काम गरेको इटालियन कम्पनीले गतिका साथ काम अघि बढाए पनि आर्थिक रूपमा टाट पल्टेर कम्पनी फिर्ता भयो ।केही महिनाको अन्योलपछि चिनियाँ निर्माण कम्पनीसँग बाँकीको निर्माणको काम सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको थियो । खानेपानी मन्त्रालयले पटकपटक काठमाडौं उपत्यकामा मेलम्चीको पानी झारिने लक्ष्य राख्दै पनि आएका थिए । जसअनुरुप पछिल्लो पटक असार मसान्तसम्ममा पानी झार्ने लक्ष्य राखिए पनि दुर्घटनाले त्यो समय धकेलिएको थियो ।राष्ट्रिय गौरवका रूपमा रहेको मेलम्ची खानेपानी आयोजनाको दोस्रो चरणको मेलम्ची आयोजना प्रस्तावित रहेको छ । दोस्रो चरणमा याङ्ग्री र लार्के खोलाको पानी पनि मिसाएर राजधानीमा वितरण गर्ने योजना रहेको छ ।