हेटौंडा । वन्यजन्तुको संरक्षण माग गर्दै वन विज्ञान अध्ययन संस्थान (फरेष्ट्री क्याम्पस) मा अध्ययनरत विद्यार्थीहरुले आइतबार हेटौंडामा केहीबेर सडक अवरुद्ध गरेका छन् ।फरेष्ट्री क्याम्पसभित्र रहेका वन्यजन्तुको संरक्षणमा सरोकारवालाले कुनै चासो नदेखाएको भन्दै क्याम्पसमा अध्ययनरत विद्यार्थीले पूर्व–पश्चिम राजमार्ग केहीबेर बन्द गरेका हुन् ।उनीहरुले ‘क्याम्पस प्रशासन मुर्दावाद, चित्तल मार्न पाइँदैन, यस्तो प्रशासन चाहिँदैन’ जस्ता नारा लगाएका थिए ।क्याम्पसको जंगलमा रहेका वन्यजन्तु संरक्षणको माग गर्दै बारम्बार क्याम्पस प्रशासन, जिल्ला प्रशासन कार्यालय मकवानपुर र सरोकारवाला निकायलाई ध्यानाकर्षण गराउँदासमेत प्रशासन मौन बसेकाले आफुहरु विरोधमा उत्रिन बाध्य भएको विद्यार्थीहरुको भनाइ छ ।

क्याम्पस परिसरको खुल्ला क्षेत्रलाई बन्द गरिनुपर्ने, सडक क्षेत्रको भू–भाग कटाएर क्याम्पस परिसरमा पर्खाल लगाउनुपर्ने, वन्यजन्तुको संरक्षणका लागि उचित व्यवस्था हुनुपर्ने, उपमहानगरपालिकाले भुसिया कुकुरको व्यवस्थापन गर्नुपर्ने र क्याम्पसका कर्मचारीले पालेका कुकुरलाई छाडा छोड्न बन्द गर्नुपर्ने लगायतका माग उनीहरुले राखेका छन् ।क्याम्पस परिसरमा आइतबार बिहान एउटा चित्तल मृत फेला परेको थियो । मृत चित्तललाई डिभिजन वन कार्यालयले व्यवस्थापनका लागि लाने गरेको र सोबारे कुनै अनुसन्धान नै नहुने भएकोले आफुहरुले विरोध गरेको विद्यार्थीहरु बताउँछन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

क्याम्पसका सबै क्षेत्र खुल्ला रहेका कारण चोरी सिकारी हुने गरेको र  क्याम्पसका कर्मचारीहरुले पालेका तथा हेटौंडा उपमहानगरपालिकाले भुसिया कुकुरको व्यवस्थापन नगर्दा क्याम्पस परिसरमा संरक्षित वन्यजन्तुहरु मृत अवस्थामा फेलापर्ने गरेको उनीहरु बताउँछन् ।फरेष्ट्री क्याम्पसमा पछिल्लो एक हप्तामा मात्रै तीनवटा चित्तल मृत अवस्थामा भेटिएको उनीहरु बताउँछन् । फरेष्ट्री क्याम्पस परिसरभित्र लकडाउनको अवधि यतामात्रै १६ वटा चित्तल मृत अवस्थामा भेटिएको विद्यार्थीहरुले बताए ।