कोरोना संक्रमण तीव्र गतिमा बढ्न थालेपछि बाँकेमा लकडाउन घोषणा गरिएको छ । आज मध्यरातिबाट लागु हुनेगरी नेपालगञ्ज उपमहानगर क्षेत्रमा एक साताका लागि लकडाउन घोषणा गरिएको हो । नेपालगञ्जमा कोरोना संक्रमण तीव्र गतिमा फैलिएकाले त्यसको चेन ब्रेक गर्नका लागि आज राति १२ बजेदेखि १५ गते राति १२ बजेसम्म नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रभर अत्यावश्यक सेवाबाहेक निषेध गरिएको छ ।
मंगलबार बसेको कोरोना संकट व्यवस्थापन समिति बैठकले एक सातासम्म लकडाउन गर्न बाँकेका प्रमुख जिल्ला अधिकारीलाई सुझाव दिएको थियो । डिसीसीएमसीको सिफारिस अनुसार नै लकडाउन घोषणा गरिएको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताए । प्रजिअ गेलालले जारी गरेको विज्ञप्तीमा दैनिक उपभोग्य बस्तुहरु तरकारी, खाद्य, दूध, ग्यासका पसल बिहान ६ देखि ९ बजेसम्म सञ्चालन हुने उल्लेख गरिएको छ ।
यस्तै, स्वास्थ्य, शान्ति सुरक्षा, विद्युत, दूरसञ्चार, खानेपानी, फोहरमैला व्यवस्थापन, ग्यास, पेट्रोलियम पदार्थ, औषधी पसल, बैंकको एटीएमजस्ता अत्यावश्यक सेवाहरु एवं सार्वजनिक निर्माण कार्य, पूर्व निर्धारित परीक्षाहरु र हवाई सेवा सञ्चालन गर्न पाइने छ ।











