काठमाडौं, ११ बैसाख । धरहरा भत्किँदा पनि बाँच्न सफल भएकी रमिला श्रेष्ठलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मान गरेका छन् । शनिबार पुनर्निर्मित धरहराको उदघाटन कार्यक्रममा बल्खु काठमाडौंकी श्रेष्ठलाई सम्मान गरिएको हो । २०७२ वैशाख १२ गते धरहरामा चढेर काठमाडौं उपत्यका अवलोकन गर्नेक्रममा भूकम्प जाँदा उनी घाइते भएकी थिइन् ।
गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको भूकम्पमा धरहरा पूर्णरुपमा भत्किएको थियो । धरहरा क्षेत्रमा मात्रै ६० जनाको ज्यान गएको थियो । भूकम्पमा परी देशभर ८ हजार ९ सय बढीको ज्यान गएको थियो भने कयौं भौतिक संरचना नष्ट भएको थियो । धरहराको उदघाटन कार्यक्रममा प्रधानमन्त्री ओलीले पुनर्निर्माणमा योगदान पुर्याएकाहरुलाई पनि सम्मान गरेका छन् । धरहरा ढलेर ज्यान
गुमाउनेको परिवारलाई रोजगारी दिने प्रधानमन्त्रीको घोषणा प्रधानमन्त्री केपी शर्मा ओलीले त्रासदीपूर्ण भूकम्पबाट धेरै जनधनको क्षति भएको स्मरण गर्दै धरहरा ढलेर ज्यान गुमाउनेका परिवारलाई रोजगारीको व्यवस्था गर्ने घोषणा गरेका छन् ।
शनिबार धरहरा उद्घाटन समारोहलाई सम्बोधन गर्दै ओलीले धरहरा क्षेत्रमा उपलब्ध हुने रोजगारीमा मृतकका परिवारलाई प्राथमिकता दिने बताएका हुन् । उनले परिवारका एक जनालाई प्राथमिकताका साथ रोजगारी उपलब्ध गराइने घोषणा गरे । उनले धरहरामा क्षेत्रमा काम नपाउनेलाई अर्को क्षेत्रमा पहल गरिने पनि बताए ।










