काठमाडौं, १४ वैशाख । सरकारले निषेधाज्ञा लगाउने अधिकार स्थानीय प्रशासनलाई दिएको छ । सोमबार बालुवाटारमा बसेको मन्त्रिपरिषदको यो निर्णयसँगै अब संक्रमणको स्थिति हेरेर जिल्ला तहबाटै निषेधाज्ञा लागू हुने भएको छ । त्यसका लागि मापदण्ड पनि बनाइएको छ । हिमाली तथा पहाडी जिल्लामा सक्रिय संक्रमितको संख्या २ सय र काठमाडौं उपत्यका तथा तराईका जिल्लामा सक्रिय संक्रमितको संख्या ५ सय पुगेपछि निषेधाज्ञा जारी हुन सक्नेछ ।
निषेधाज्ञा कम्तीमा १५ दिनको हुनु पर्नेछ । एक हप्तामा कोरोनाको चेन ब्रेक नहुने भएकाले निषेधाज्ञा कम्तीमा १५ दिन लगाइने भएको हो । उपत्यकाका तीन जिल्लामा लगाइन लागिएको निषेधाज्ञा वैशाखभरका लागि लागू हुने भएको छ । निषेधाज्ञा लगाउनुपूर् सर्वसाधारणलाई केही समय दिनुपर्ने भएको छ । अकस्मात निषेधाज्ञा लगाउन भने पाइनेछैन ।










