दमक, झापामा कोरोनाको संक्रमण बढ्दै गएपछि दमकको दुईवटा महत्वपूर्ण कार्यालयमा सेनिटाइज गरिएको छ । सेवाग्राहीहरुको धेरै भिडभाड हुने दमकको इलाका प्रशासन कार्यालय र इलाका प्रहरी कार्यालय दमक परिसरमा सेनिटाइज गरिएको हो । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि मंगलबार विहान सानो प्रयास युवा समाज र ह्याप्पी नेपाल दमकको टोलीले उक्त कार्यालयमा सेनिटाइज गरेको छ ।

कार्यालयमा सेवा लिन आउने सेवाग्राहीलाई कोरोना कोभिड १९ को संक्रमण नहोस भनेर सेनिटाइजर स्प्रे गरेको हेप्पी नेपाल दमकका महासचिव सुरेन्द्रकुमार श्रेष्ठले बताए । प्रशासन कार्यालयको नागरिकता फाँट, राहदानी फाँट, प्रहरी कार्यालय दमकको प्रहरी हिरासत, प्रहरी ब्यारेक, सोधपुछ कक्ष, मुद्दा फाँट लगायतको ठाउँमा सेनिटाइजर स्प्रे गरिएको उनले बताए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

त्यसैगरी मंगलबारै दमक बजारका बिभिन्न ठाउँमा उद्योग बाणिज्य संघ दमकले सर्वसाधारणहरुलाई सर्जिकल माक्स बितरण गरेको थियो । यता दमकको पूर्व बस स्टेण्ड परिसरमा नेपाल यातायात स्वतन्त्र मजदुर संघ दमकले सवारी चालक, यात्रुहरु र सर्वसाधारणलाई सर्जिकल माक्स वितरण गरिएको मजदुर नेता रञ्जित यादवले जानकारी दिए ।