काठमाडौं : सरकारले अक्सिजन सिलिण्डर लगायतका मालवस्तुमा कर छुट दिने निर्णय गरेको छ । कोभिड १९ सँग सम्बन्धित विषयमा कर छुटको निर्णय भएको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले बुधबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी गराए । त्यस्तै सरकारले कोभिड १९ नियन्त्रण तथा रोकथामका लागि वैशाख १६ गते विहान ६ बजेदेखि लागु हुनेगरी १५ दिनसम्म सार्वजनिक आवागमन तथा बजार सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ ।

प्रवक्ता गुरुङकाअनुसार प्रत्येक जिल्लाको प्रमुख जिल्ला अधिकारीलाई मुकरर गर्ने र पहाडी र हिमाली जिल्लाको हकमा २०० र उपत्यका र काठमाडौं उपत्यकाको हकमा ५०० संक्रमित संख्या पुगेमा २०७८ वैशाख १६ देखि विहान ६ बजेदेखि लागु हुनेगरी १५ दिनसम्म लागू हुनेगरी सार्वजनिक आवागमन, बजार सञ्चालन तथा अन्य सबै किसिमको वस्तु र सेवाको आपूर्ति र सञ्चालनमा आवश्यक निषेध आदेश जारी गर्ने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारीले आवश्यकताअनुसार स्थानीय प्रशासन ऐन २०१८ ले दिएको अधिकार समेत प्रयोग गर्नसक्ने उनले बताए । प्रवक्ता गुरुङकाअनुसार सरकारले सबैका लागि दिगो खानेपानी तथा सरसफाई आयोजना कार्यान्वयन गर्न फिनल्याण्ड सरकारबाट प्राप्त हुने नौ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने बैठकले निर्णय गरेको छ । त्यस्तै, मिलिनियम च्यालेन्ज एकान्ट नेपालका लागि आवश्यक बजेट व्यवस्थापन गर्न स्वीकृति प्रदान गर्ने निर्णय पनि सरकारले गरेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यस्तै भारतका प्रमुख राष्ट्राध्यक्षलाई दुवै पक्षको आपसी सहमतिअनुसार तय हुने अनुकूल समयमा र श्रीमती र स्टाफ अधिकृतसहित नेपाल भ्रमणको औपचारिक निमन्त्रणा पठाउने स्वीकृति दिने निर्णय भएको पनि सरकारका प्रवक्ता गुरुङले जानकारी दिए । उनका अनुसार वदनियतपूर्बक अनुसन्धान वा अभियोजन गरेको कसुरको सम्बन्धमा परेको उजुरीको अनुसन्धान गर्न अनुसन्धान समितिको सदस्यमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको कानुन तथा फैसला कार्यान्वयन महाशाखा हेर्ने सहसचिव र प्रहरी प्रधान कार्यालयको प्रहरी महानिरीक्षकको सचिवालयको प्रहरी नायव महानिरीक्षकलाई तोक्ने निर्णय गरिएको छ ।

नागरिक लगानी कोषको चुक्ता पूँजी बृद्धि गरी ३ अर्व २७ करोड रुपियाँ कायम गर्न सरकारले स्वीकृति प्रदान गरेको मन्त्री गुरुङले जानकारी दिए । सशस्त्र प्रहरी अतिरिक्त महानिरिक्षकद्वय पुष्पराम केसी र रामशण पौडेलको सेवा ३० वर्ष ननाघ्ने गरी मिति २०७८/१/२१ देखि २०७९/१/१८ सम्म पदावधि थप गर्ने निर्णय भएको मन्त्री गुरुङले जानकारी दिए । मदन मण्डारी राजमार्ग र ऋद्दि सुर्खेत सडकको पुनः रेखाङ्कन स्वीकृत गर्ने निर्णय भएको मन्त्री गुरुङले जानकारी दिए ।