दमकमा कोरोना संक्रमितको ग्राफ उकालो लाग्न थालेपछि नगरपालिकाले पूर्ण लकडाउन गर्ने निर्णय गरेको छ । आगामी जेठ १ गतेबाट लागू हुने गरि दमकमा पूर्ण लकडाउनलाई कठोरतापूर्वक पालना गराईने भएको छ ।

अब दमकमा खाद्य, तरकारी तथा हार्डवेयर पसलहरुपनि पूर्ण रुपमा बन्द रहनेछन् । दमकमा निषेधाज्ञा अवज्ञा गर्नेहरुका कारण जोखिम बढेको ब्यापक गुनाशो आएपछि स्थानीय सरकारले आज सरोकारवालाहरुसँग छलफल गरेको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सो छलफलले कम्तिमा एकसाता पूर्ण लकडाउनको पालना गराउन कठोरतापूर्वक लाग्न नगरपालिकालाई सुझाव दिएको थियो ।

सवाल नेपालसँग टेलिफोनमा नगर प्रमुख रोमनाथ ओलीले भने, “खाद्य सामाग्रि पसल, तरकारी, हार्डवेयर लगायत सबै प्रकारका पसल एवं ब्यवसाय बन्द राख्ने निर्णय गरेका छौं, बित्तिय संस्थाहरु पनि हप्तामा दूईदिनमात्र खोल्न पाउनेछन् । अत्यावश्यकीय तोकिए बाहेकका कुनै पनि प्रकारका सवारी साधनहरु पनि चल्न नपाउने गरी निर्णय गरेका हौं” ।

दमकमा बिगतका लकडाउन तथा अहिलेको निषेधाज्ञा खुकुलो रहेको थियो । मेयर ओलीले भने, “अण्डा र दूधका लागि भने विहान २ घण्टा खुला राख्न पाउने तर त्यसमा पनि सावधानी अपनाउनुपर्नेछ । ”

यस अघि जिल्ला प्रशासन कार्यालय झापाले भने झापामा पूर्ण निषेधाज्ञाको घोषणा गरेको थियो तर त्यसमा बिभिन्न ब्यापार व्यवसाय सञ्चालनका लागि समयसिमा समेत तोकिएको थियो । तर अब दमकमा भने कुनैपनि बहानामा कसैलाईपनि छुट नदिईने मेयर ओलीले बताएका छन् । उनले एक साताका लागि शब्जी पशलसमेत खोल्न नदिईने भन्दै बिना काम लखरलखर हिड्नेलाई कार्बाहीको दायरामा ल्याईने समेत उल्लेख गरे ।